न्यूज टुडे
राजविराज, १७ असार ।
मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम स्थित मधेश भवन परिसरमै रहेको मधेश प्रदेश प्रहरी गणको मंगलवार अनुगमन गरेका छन् । प्रहरी गणको स्थलगत निरीक्षण गर्दै उनले त्यहाँको विभिन्न समस्या बारे जानकारी लिएका हुन् ।
जनकपुरधाम स्थित निधी भवनमा रहेको प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरु मधेश भवन परिसरमा रहेको पुरानो र जोखिमपूर्ण गोदाम सहित भवनहरुको सरसफाइ संगै मर्मत गरि अहिले प्रयोगमा ल्याउँदै गण कार्यालय र प्रहरीको वस्ने व्यवस्थापन मिलाएका छन् । यद्धपी उक्त स्थानमा प्रहरी कर्मचारीहरुलाई सुत्नका लागि समस्या रहेको छ ।
प्रहरी कर्मचारीहरु बस्ने भवनमा अत्यधिक गर्मी रहेको र पंखाको समेत प्रयाप्त व्यवस्था छैन । खानेपानीको समेत समस्या रहेको प्रहरी अधिकृतहरुले मुख्यमन्त्री सिंहलाई जानकारी दिए ।
जनताको सुरक्षामा अहोरात्र खट्नुहुने प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्ने तर्फ प्रदेश सरकारले आवश्यक पहल गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्ध व्यक्त गरे । मधेश प्रदेश प्रहरी गणको व्यवस्थापनका लागि प्रदेश सरकारका बिभिन्न मन्त्रालय मार्फत यथेष्ट सहयोग गर्ने मुख्यमन्त्री सिंहले बताए ।
उक्त अवसरमा मुख्यमन्त्री सिंहलाई गणपति प्रहरी उपरिक्षक नारायण रण्जितकार, प्रहरी निरिक्षक बेचन यादव सहितका प्रहरी अधिकारीहरुले गणको अवस्थाबारे जानकारी गराएका थिए ।