न्यूज टुडे
राजविराज, १७ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा २ स्थित बर्मझियामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । दुर्घटनामा कञ्चनरुप २ बस्ने रोजित शेखका ८ वर्षीय छोरा आयन शेखको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ ख ५४३८ नम्बरको यात्रुबाहक बसले सडक काट्दै गरेका बालकलाई दिउँसो ०१५० बजे ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
दुर्घटनाको जानकारी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा दिउँसो करिब २ बजे प्राप्त हुनासाथ डिएसपी माधव प्रसाद काफ्लेको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक सुनसरी, इटहरी उपमहानगरपालिका–५ का ४५ वर्षीय मनोरथ पोखरेललाई इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा लिइएको प्रहरीले बताएका छन् । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले सडक अवरुद्ध गर्दै ४ घण्टाबढी समय चक्काजाम गरेका छन् । दिउँसो करिब २:१५ बजेदेखि सयौंको संख्यामा आक्रोशित स्थानीयबासीले राजमार्ग ट्यार बालेर अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । नारावाजीसहित स्थानीयले गरेको सडक अवरुद्ध साँझ ०५:४५ बजे खुलेको थियो ।
दुर्घटनामा मृत्यु भएको बालकको शव अभिभावकलाई जानकारी नगराई उठाएको स्थानीयको आरोप छ ।
‘हाम्रो बालकको मृत्यु भएपछि प्रहरी आएर अभिभावकलाई नसोधी शव किन पोस्टमार्टमका लागि लगियो ? एक स्थानीयले भने ‘मृतक बालकको अभिभावकलाई न त जानकारी दिइयो, न त सँगै लगियो ।’
आक्रोशित मृतक बालकका आफन्त तथा स्थानीयबासीले प्रहरीले माफी माग्नुपर्ने अडान राखेका थिए । आन्दोलनका कारण घटना स्थल तनावग्रस्त भएका थिए ।