मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले धान दिवसले कृषिप्रतिको समर्पणलाई अझै स्पष्ट बनाउने कुरा बताएका छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देशका क्रममा उनले यस्तो उल्लेख गरेका हुन् । हो, धान दिवसले कृषकमा आफ्नो पेशाप्रतिको समर्पणमा ऊर्जा थप्छ भन्ने अपेक्षा राखिनुलाई स्वाभाविक नै मान्न सकिन्छ । तर किसानले कृषि कर्मका क्रममा भोग्नुपरेका हण्डरका बारेमा सरकारी स्तरबाट पनि ध्यान दिँदै उनीहरुका समस्या समाधान तथा राहतका बारेमा सोच्नु पर्ने कुरालाई भने अलग्याउन सकिँदैन । साह स्वयम् पनि अर्थमन्त्रीको जिम्मेवारीमा आउनु भन्दा अघि प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीकै जिम्मेवारीमा रहिसकेका नेता हुन् । किसानका समस्या के कस्ता रहन्छन् भन्ने अनुभव नजिकैबाट गरीसकेका पूर्वमन्त्री साहले मुलुक संघीयतामा गए पश्चात गठित पहिलो प्रदेश सरकारको मन्त्रीका रुपमा काम गर्नु पर्दा धेरै कुरा चाहेर पनि गर्न नसकिने अवस्था थियो होला । तर त्यसपछि पनि कार्य मन्त्रालयको जिम्मेवारीमा अन्य कतिपय मन्त्रीले काम गरिसक्दा पनि किसानका समस्या चाहीँ यथावतै छन् ।
तसर्थ वर्षमा एक दिन धान दिवस मनाउँदै किसानका लागि सरकारले गरीदिनु पर्ने जिम्मेवारी पूर्ण कामको पनि लेखाजोखा गरिनु अझै सान्दर्भिक हुनेछ ।