आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । प्रमुख पर्वका रुपमा रहेको धान रोपाइँ सुरु गर्ने दिनका रुपमा पनि यस दिनको विशेष महत्व छ ।
यही कारण ठाउँ–ठाउँमा विशेष कार्यक्रमका साथ रोपाइँ गर्दै, हिलो छ्यापाछ्याप गर्दै, भाखा हालेर गीत गाउँदै यस दिनलाई रोपाइँ दिनवसकै रुपमा मनाइने गरिएको छ । पुरुषहरुले खेत जोत्ने, पानी लगाएर हिल्याउने काम गरी रोप्नका लागि जमीनलाई तयार गरीसकेपछि, महिलाहरुको बढी सहभागीतामा धान रोप्ने गरिएको रमाईलो जताततै देख्न सकिन्छ । खेतमै असार १५ का दिन दही, चिउरा खाएर रोपाइँमा हुने व्यस्तताको आफ्नै आनन्द छ । ‘मानु रोपेर मुरी फलाउने’ अवसरका रुपमा रहेको रोपाइँप्रति नै नेपाली किसानहरु दत्तचित्त भएर लागेको पाईन्छ । समयमा रोप्न सके मात्र वर्षभरिको खाद्यान्नको जोहो गर्न सम्भव हुने, बढी उत्पादन गर्न सके त्यसैलाई बिक्री गरेर गर्जो टार्न सकिने भएका कारण नेपाली किसानहरुका लागि रोपाइँ, पर्वसरह बन्दै आएको छ ।
किसानले धानबाली प्रति देखाएको समर्पण र गरेको मिहीनेतमा सरकारले पनि थप प्रोत्साहन दिने खालका किसान मैत्री नीति तथा कार्यक्रम ल्याएर लागु गर्न सकियो भने यसले आत्मनिर्भरताका साथै मुलुककै समृद्धि समेतमा टेवा पुग्नेछ ।