जनआन्दोलन चौकदेखि राममन्दिरसम्मको करिब दुई सय मिटर सडक खण्ड कालोपत्रे नगरी धुलो खुवाएको भन्दै स्थानीयले मंगलबार राजविराजमा सडक अवरुद्ध गरे ।
उक्त सडक खण्डमा आक्रोशित युवाहरुले यस अघि पनि यातायात अवरुद्ध गरेकै हुन् । ठेकेदारलाई बोलाएर काम सुचारु गर्न लगाउने भन्ने सहमति गरेर आन्दोलन रोकियो । तर फेरि पनि अवस्था उस्तै रहेको र जनताले सास्ती पाउनु परिरहेकै छ । ठेकेदारले काममा ढिलासुस्ती गरेको यस सडकमा मात्रै होईन । राजविराज–हनुमाननगर–भारदह होस वा राजविराज रुपनी सडक खण्डको अवस्था पनि उस्तै छ । राजविराजदेखि रुपनी सम्म १० किलो मिटर सडक निर्माणको काम थालेको वर्षौ वितिसकेको छ । तर अहिले पनि सडकको अवस्था लथालिंग नै छ । कामको जिम्मा लिएर पनि त्यसलाई समयमा पूरा नगरी झुलाएर राख्ने अनि जनताले चाहीं धूलो, हिलोको सास्ती खेप्दै जोखिमयुक्त यात्रा गर्नुपर्ने अवस्था रहिरहँदा पनि सरकारले त्यस्तामाथि कारवाही गर्न नसक्दा यो एक समस्याकै रुप बनेको छ । उल्टै पटक–पटक म्याद थपिदिनाले ढिलासुस्ती गर्नेको मनोबल बढिरहेको छ ।
जनतालाई सास्ती खेप्नु परिरहेको वर्तमान अवस्थालाई धयानमा राखेर समयमा काम पूरा नगरी अटेर गर्ने ठेकेदार उपर कडाई नगर्ने हो भने यस्तो प्रवृत्तिले गम्भीर समस्याको रुप लिँदै नजाला भन्न सकिन्न ।