• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २ सय ६७ केजी आँप नष्ट गरेको समाचार आएको छ ।
उपमहानगरको संयोजन र खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय र विषादी, अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाले संयुक्त अनुगमन गर्दा विषादी प्रयोग गरेको भेटिएपछि उक्त परिमाणको आँप नष्ट गरेको हो । पाक्ने समय हुनु अगावै विषादी हालेर आँप बजारमा पठाउने परिपाटी धनगढीमा मात्रै नभई अन्यत्र पनि नचलेको होईन । अत्यधिक विषादी प्रयोग गरी सिजन अगावै पँहेला आँप सप्तरीका बजारहरुमा पनि छयाप्छ्याप्ती भेटिने गरेका छन् । सर्वसाधारणको स्वास्थ्यमा सरासर खेलवाड गर्दै यस्ता अखाद्य सामग्री बिक्री गरिँदा पनि त्यस प्रति कुनै निकायले चासो देखाउने गरेको पाइँदैन । विषादी प्रयोग गरिएका, स्वास्थ्यका लागि अति घातक मानिने यस्ता वस्तुको बिक्री वितरणमाथि रोक लगाउन स्थानीय तहहरुले नै अग्रसरता लिनुपर्ने हो । अन्य निकाय समेतको समन्वयमा बजारमा बेच्ने गरिएका खानेकुरा, तरकारी, फलफूलको गुणस्तर कस्तो छ भन्ने कुराको यकीनका लागि बजार अनुगमन गर्न आवश्यक भए पनि यस्तो विषयमा पालिकाहरु सप्तरीमा बेखबरझैं देखिने गरेका छन् । अनुगमन नै नहुने भएपछि विषादी हालेका तथा स्वास्थ्यका लागि घातक मानिने फलफूल, तरकारी बेच्नेहरुका लागि कमाउने राम्रो अवसर मिल्नु स्वाभाविकै पनि हो । जनताको स्वास्थ्यसित प्रत्यक्ष सरोकार रहेको यस्तो विषयमा पनि जनप्रतिनिधिको ध्यान पुग्दैन भने उनीहरु जनताका समस्याप्रति सम्वेदनशील छन् भनेर कसरी पत्याउने? दशैं, तिहारका समयमा दुई चार दिन केही पसलको अनुगमन गरेर मात्र पुग्दैन ।
बजारमा विकृति बेथिति जुनसुकै समयमा पनि भेटिन सक्छ भन्ने धारणाका साथ जनस्वास्थ्य दृष्टिले घातक मानिएका यस्ता वस्तुको बिक्री वितरणमाथि रोक लगाउनै पर्ने हुन्छ । स्थानीय तहको अग्रसरतामा प्रहरी प्रशासन, उपभोक्तावादी, संघसंस्था तथा विशेषज्ञको टोली मार्फत बजार अनुगमनमा सक्रियता बढाउन जरुरी छ ।