• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकाले केही महिना अघि बजारमा छोडिएका छाडा चौपायाहरुलाई नियन्त्रण गर्न सुरु गरेको थियो ।
बढी संख्यामा गाई र साँढे रहेका कारण गाईलाई नियन्त्रण गर्ने र त्यसले गर्दा साँढेको बिगबिगी पनि स्वतः घटेर जाने अपेक्षाका साथ यो काम थालिएको थियो । छाडा पशु चौपायालाई नियन्त्रण गर्न तत्काल सरसफाईकर्मीहरुलाई विशेष पोशाकको व्यवस्थाका साथ परिचालन गरिने कार्यबाहक नगर प्रमुखले सञ्चारकर्मीहरुलाई बताएकी पनि हुन् । बजार क्षेत्रबाट पशुचौपाया नियन्त्रणमा लिन थालिएपछि केही दिन राहतको महशुस पनि भएकै हो । तर अहिले फेरि अवस्था उस्तै बन्न पुगेको छ । पशुचौपाया मेनरोडमै विचरण गर्ने, राती सडकमै बस्ने र फोहर गर्ने क्रम बढेका कारणले नगरपालिकाको योजना असफल भएको कुरा प्रमाणित हुन थालेको छ । ब्यस्त बजारमा पशु चौपाया छाडि दिंदा ब्यापारीहरुको फलफूल, तरकारी लगायत अन्य खाद्य सामग्रीमा क्षति पु¥याउने, दुर्घटनाको जोखिम बढेर जाने भएका कारणले यसको नियन्त्रण गर्नै पर्ने हुन्छ । तर आम सर्वसाधारणलाई समस्या भईरहेको यस कुराप्रति नगरपालिकाका अहिले पनि उदासीन नै रहेको भान हुन थालेको छ । बजारमा पशुचौपाया छाड छाड्नु सरासर अर्थेल्याइँ भएका कारण तिनलाई नियन्त्रणमा लिने जरिवाना तिराएर मात्र फिर्ता दिने नगरपालिकासित अधिकार पनि छ ।
जनतालाई आवागमनमा पनि जोखिमका रुपमा रहेको यो समस्याका स्थायी समाधान गर्ने जिम्मेवारी आफ्नो रहेको छ भन्ने बोधका साथ नगरपालिकाले काम गर्न जरुरी छ ।