गत बिहीबार वडो भव्यताका साथ राजविराजको नवनिर्मित बसपार्कको उद्घाटन गरियो ।
विभिन्न सुविधायुक्त बसपार्क उद्घाटन भएपछि अव त्यसलाई कसरी सञ्चालनमा ल्याउने भन्ने प्रश्न खडा भएको छ जुन स्वाभाविकै पनि हो । बसपार्क सुविधा सम्पन्न छ । त्यसको संरक्षण गर्नुपर्ने जिम्मेवारीका साथसाथै जथाभावी पार्कि·का कारणले गर्दा अस्तव्यस्त बनेको नगर क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि पनि अब प्रान्त सबै सार्वजनिक सवारीका साधनलाई बसपार्कमै ल्याइनु पर्ने हुन्छ । दसकौंदेखि नगरका मुख्य सडकमा पार्कि·का साथै त्यहींबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधन बसपार्कमा ल्याएर सञ्चालन गर्ने थिति बसाल्नका लागि पनि निकै मिहिनेत गर्नुपर्ने हुन सक्छ । लागेको बानी झ्वाट्टै छोड्न सकस हुन सक्छ । तथापि लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बसपार्क साना ठूला सबै सवारी साधन अट्न सक्ने क्षमताको रहेका कारण यहाँबाटै सबै प्रकारका सवारी साधन सञ्चालनको परिपाटी बसाउनेतर्फ नगरपालिका, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीहरुले तत्परताका साथै सहयोगी भूमिका अपेक्षित छ । यसका साथसाथै कुन रुटको सवारी साधनलाई कतापट्टिबाट बसपार्कको सडक प्रयोग गर्ने भन्ने कुरामा यकीन गरी सडकको मर्मत सम्भार देखि स्तरोन्नतितर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।
समग्रमा राजविराजको नवनिर्मित सुविधा सम्पन्न बसपार्क नगरको एक महत्वपूर्ण भौतिक संरचना भएकाले यसको संरक्षण र उचित तरिकाले सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक छ भन्दा अन्यथा नहोला ।