• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराजको रुपनी मोडस्थित हनुमान मन्दिर अगाडि वर्षौ अघि देखि भत्केको सडक निर्माणमा भईरहेको ढिलासुस्तीका कारणले त्यहाँ बारम्बार दुर्घटना हुँदै आएको छ ।
अति व्यस्त रहने उक्त सडकमा अनेकौं खाल्डा खुल्ली रहने गरेका कारण दुर्घटनाको जोखिमका साथसाथै त्यस आसपासका बासिन्दाले धूलो र हिलोको सास्ती समेत खेप्नु परिरहेको हो । सडक मर्मत सम्भारमा चासो नराखेको भन्दै स्थानीय अटो तथा सिटी रिक्सा चालक मजदुरहरुले बुधबार चार घण्टासम्म सडक जाम गर्दै आन्दोलन सुरु गरेपछि त्यहाँ पुगेकी कार्यबाहक नगरप्रमुख इसरत परविनले ठेकेदारले काममा गरेको आलटाल र विलम्वले गर्दा यस्तो हालत रहेको भन्दै प्रतिक्रिया दिएकी छिन् । राजविराज नगरपालिकाको निर्वाचन सम्पन्न भएलगत्तै नवनिर्वाचित मेयर भीमराज यादवले आफ्नै प्रयासमा उक्त सडक खण्डको मर्मत सम्भार गराएका थिए । उनी हाल निलम्वनमा परेको र सडक स्तरोन्नतिको ठेक्का लिनेले काम नगरी देखाईरहेको ढिलासुस्ती उपर कडाई नगरेका कारणले जनताले सास्ती भोग्नु परिहेको अवस्था छ । कामको जिम्मा लिएर पनि समयमा सम्पन्न गर्नेतिर चासो नराख्नु एक प्रकारले लापरबाही नै हो । त्यस्ता उपर कडाई नगर्दा झनै मनोबल बढ्ने हुँदा यसबाट अन्ततः जनताले नै सकस व्यहोर्ने अवस्था आउने हो ।
समयमा काम नगर्ने प्रवृत्ति एक प्रकारले विकासमा अवरोध गरेसरह नै भएकाले सम्बन्धित निकायले यस्ता प्रवृत्तिका विरुद्ध अग्रसरता देखाउन आवश्यक छ ।