राजविराज नगरपालिकामा छाडा चौपायाको समस्या नयाँ होईन । एक दशक भन्दा अघि देखि नगर क्षेत्रमा छाडा चौपायाहरुको बिगबिगी चल्दै आएको छ ।
नगरपालिकाले काञ्जी हाउस बनाएर यस्ता पशुचौपायाको नियन्त्रण गर्नुपर्ने हो । तर त्यसतर्फ ध्यान नदिएको भनी ब्यापक जनगुनासो उठ्दै गरेको हो । पछिल्लो चरणमा केही महिना अघि मात्र नगरपालिकाले यस्ता चौपायालाई नियन्त्रणमा लिन थालेको थियो । कार्यबाहक नगरप्रमुख इसरत परविनको तत्काल नगरपालिकाका सरसफाईकर्मी लगायतका कर्मचारीलाई परिचालन गरेर भएपनि नगरक्षेत्रका छाडा पशुचौपायालाई नियन्त्रणमा लिने जरिवाना तिराएर मात्र पशुधनीलाई फिर्ता दिने व्यवस्था गर्न लागेको भनी बताएकी पनि हुन् । विशेषतः नगर क्षेत्रमा छाडा गाई र साँढेको बिगबिगी बढेका कारण गाईलाई नियन्त्रणमा लिएर राख्न सके साँढेको बिगबिगी पनि कम भएर जाने उनको तर्क थियो । नगरपालिकाले यो अभियान थालेपछि केही न केही राहत मलिेको पनि हो । तर ‘पुनर्मुसिकोभव’ भने जस्ते अहिले नगर क्षेत्रमा छाडा पशुचौपायाको बिगबिगी फेरि देखिन थालेको छ । साँझ पर्नासाथ नगरक्षेत्रका मेनरोड, चोक लगायतका सर्वसाधारणको बढी आवागमन रहने ठाउँमा यी पशुचौपायाको जमघट हुन थालेपछि समस्या बल्झिएर गएको छ ।
आफैंले थालनी गरेको छाडा पशुचौपाया नियन्त्रणको अभियान फेरि किन सिथिल बन्दैछ? नगरपालिकाले यसको सिंहावलोकन गर्न आवश्यक छ ।