• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

चालु आर्थिक वर्ष समाप्तिको चरणमा छ । यही समयमा ठाउँ–ठाउँमा विभिन्न विकासीय योजनाहरुको शिलान्यास गर्ने क्रम बढ्दो छ । यस आर्थिक वर्षमा बाँकी रहेको बजेट खपत गर्नका लागि मात्रै दैनिक योजना शिलान्यास मात्रै गरेर जनताले विकासको प्रतिफल पाईहाल्छन् भन्न सकिन्न ।
सप्तरीमा पनि अचेल शिलान्यासका कार्यक्रम निकै हुन थालेका छन् । तर जुन गतिमा यस्ता शिलान्यास हुने गरेका छन् त्यस अनुपातमा योजना सम्पन्न भई तिनको उद्घाटन चाहीँ हुन सकिरहेको छैन । जिल्लाको सदरमुकाम राजविराजकै उदाहरण लिने हो भने यहाँको बसपार्क निर्माण भई हस्तान्तरण समेत गरिँदा पनि अहिलेसम्म त्यसको उद्घाटन हुन सकेको छैन । हटियाको पनि अवस्था यस्तै छ । एक महिनाभित्र हटिया पुनः सञ्चालनमा ल्याईने भनेको पनि कैयौं महिना वितिसकेका छन् । तर पनि राजविराजमा साविकको स्थानमा हाट लाग्न सकिरहेको छैन । सडक छेउमै सागसब्जी बेच्ने क्रम जारी नै छ । शिलान्यासका सँगसँगै विगतमा थालिएका योजना मध्ये कति अधुरो अवस्थामै छन् भन्ने कुराका बारेमा पनि चासो राख्नु पर्ने आवश्यक छ । यस्तै धेरै योजना सप्तरीमा अहिले पनि अधुरै अवस्थामा छन् । त्यसैले बजेट खपत गर्ने सोच मात्र लिएर योजनाको शिलान्यास मात्रै गर्ने हो भने त्यसले जनतालाई राहत मिल्छ नै भन्ने किटान गर्न सकिन्न ।
विकासको प्रत्याभूतिका लागि त थालनी भएर पनि अधुरो अवस्थामा रहेका योजनालाई सम्पन्न गराउने तर्फ प्राथमिकताका साथ काम गरिनु पर्दछ । शिलान्यास मात्रै गर्ने तर उद्घाटन गर्नेतिर नसोच्ने हो भने योजनामाथि गरिएको लगानीको उपादेयता कसरी कायम हुन सक्ला? यसतर्फ पनि सोचिनु पर्दछ ।