• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भारतीय स्वतन्त्रता संग्रामको क्रममा त्यहाँका समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया लगायत नेपालको सप्तरी आएका बखत राणा सरकारले पक्रेर हनुमाननगर जेलमा बन्दी बनायो।
नेपालमा पनि निरंकुश राणा शासनका बिरुद्ध असन्तुष्टी बढिरहेकै समयमा भारतका अङ्ग्रेज शासक बिरुद्ध आन्दोलन सुरु भएको थियो । हनुमाननगरमा बन्दी बनाईएका भारतीय समाजवादी नेताहरुलाई सप्तरीकै क्रान्तिकारी युवाहरुको सक्रियतामा जेल तोडेर मुक्त गरियो । भारत स्वतन्त्र भएपछि नेपालमा पनि निरंकुश राणा शासनका बिरुद्ध क्रान्तिकारीहरुको सक्रियता बढ्दै गयो । फलतः २००७ सालमा एक सय चार वर्षदेखिको राणा शासन ढल्यो । भारतीय स्वतन्त्रता आन्दोलनलाई कुनै न कुनै रुपले सघाएका सप्तरीका युवहरुको कारण यस जिल्लालाई सचेत नागरिकको बसोबास रहेको जिल्ला भनि चिनिने थालेको मान्न सकिन्छ । राणा, पञ्चायती शासनका बिरुद्धमा समेत सप्तरीले आफ्नो सक्रियता देखाएको कुरा विदितै छ । यसै क्रममा २०४६ को जनआन्दोलन, २०६२।०६३ को लोकतान्त्रिक आन्दोलन, मधेश आन्दोलन, माओवादी जनयुद्ध, थरुहट आन्दोलन लगायत निरंकुशताका बिरुद्ध तथा जनअधिकार बहालीका पक्षमा सप्तरीको योगदान कसैबाट लुकेको विषय होईन । जहासम्म हनुमाननगर जेल ब्रेकको सवाल छ, तत्कालीन जिल्ला सदरमुकाम हनुमाननगरको गौरब तथा सुनौला इतिहासलाई यसले निर्माण गरिदिएको जगजाहेरै छ । तर यति गौरव गर्ने इतिहास रहँदा रहँदै पनि हनुमाननगरको यस सम्बन्धि जोडिएर आएका कुराहरुको जरुरी संरक्षण गर्न आवश्यक थियो त्यो चाहीं हुन सकेको छैन ।
ऐतिहासिकतालाई पुष्टी गर्ने, भावी पुस्तालाई समेत जानकारी दिनका लागि यससित सम्बन्धित कुराहरुलाई सम्भव भएसम्म जोगाएर राख्नुपर्ने आवश्यकता छ । त्यसो भए मात्र यस महत्वपूर्ण स्थलको महत्तालाई लामो समयसाथ सुरक्षित राख्न सकिने छ ।