• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकामा सञ्चालित दुई योजनाका काममा भईरहेको विलम्वले गर्दा नगरमा हैरानी बढ्दो छ । यी दुवै योजना पूरा भई सञ्चालनमा नआएसम्म नगरका सडक अतिक्रमणमा परिरहने हुँदा प्रत्यक्ष, परोक्ष रुपमा यसको असर परि नै रहेको छ ।
चार–चार पटक शिलान्यास भएको भएपनि राजविराज बसपार्क निर्माणको काम दसकौंको प्रतीक्षा पछि बल्ल पूरा भएको छ । केही साता अघि उक्त बसपार्क हस्तान्तरणको काम सम्पन्न भएर पनि राजविराज नगरपालिकाले अहिलेसम्म त्यसको उद्घाटन सम्म पनि गर्न सकेको छैन । बसपार्क सञ्चाल नहुँदा नगरका सडकहरुमै यातायातका साधन पार्कि·को प्रचलन अहिले पनि जारी नै छ । तयारी भएको बसपार्क उद्घाटन गरी सञ्चालनमा ल्याउँदा यस्तो समस्या झेल्नु पर्ने थिएन । यसैगरी दोस्रो योजनाको रुपमा रहेको हटिया व्यवस्थापनको काम पनि अहिलेसम्म हुन सकेको छैन । सपिंग कम्प्लेक्स निर्माण गर्ने भन्दै हटियामा ठाउँ खाली गराउन त्यहाँका ब्यापारीलाई हटाएको वर्षौ वितिसकेको छ । ठाउँ खाली गर्नु पर्दा सागसब्जी बेच्नेहरुले हटियाबाट हटेपछि पश्चिम तर्फको सडकमै तरकारी बेच्न सुरु गरेका छन् । यसले गर्दा त्यस क्षेत्रमा सडक आवागमन अस्तव्यस्त रहँदै आएको छ । सडक छेउमै किनमेल गर्नेहरुको घुईचो बढ्नाले दुर्घटना समेतको जोखम छ । यस्ता कुराप्रति नगरपालिकाले चासो लिनु पर्ने आवश्यकता त हो । तर अझै पनि कति दिनसम्म यस्तै अस्तव्यस्तताको सामना गर्नुपर्ने हो भनी यकीन गर्न नसकिने अवस्था छ । नगरपालिकाकी कार्यबाहक मेयरले एक साताभित्रै बसपार्क उद्घाटन गर्ने भनी बताएको समय पनि वितिसकेको छ । यसैगरी हटिया व्यवस्थित गर्ने भनी महिनौं अघि नै बताएको भए पनि त्यसबारे अहिलेसम्म पनि अन्यौल नै छ । ठेक्का लागेको कम पनि समयभित्र पूरा नगरी झुलाएर राख्ने प्रवृत्तिमाथि पनि नगरपालिकाले कडाई गर्न नसकिरहेको अवस्था छ ।
जनताले भोग्नु परिरहेका समस्यालाई गम्भीरताका साथ लिएर काम गर्ने तिर लाग्न सक्दा नै स्थानीय सरकार समेतको भूमिकामा रहेको नगरपालिकाको कामप्रति सन्तोष मान्न सकिने छ ।