स्थानीय तह (पालिका) मा केन्द्रबाट पठाईएका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यालय प्रमुख (हाकिम) को समेत जिम्मेवारी रहन्छ ।
कर्मचारीहरुको प्रशासन यिनै कार्यालय प्रमुखले चलाउँछन् भने आर्थिक कारोबार लगायत अन्य विभिन्न जिम्मेवारीलाई पनि उनले बहन गर्नु पर्ने हुन्छ । तर यिनै कार्यालय प्रमुखलाइृ कतिपय पालिकामा टिक्न नदिने परिपाटीले जरो गाडेको कारण उनी सरुवा मिलाएर अन्यत्र जाने गर्नाले छिटोछिटो हाकिम फेरिँदा स्थानीय तहका कामहरु प्रभावित बन्ने गरेका छन् । हाकिम छिटोछिटो सरुवा हुने पालिकामध्ये राजविराज नगरपालिकालाई पनि गणना गर्न सकिन्छ । पालिकाका कार्यालय प्रमुख केन्द्रले खटाएका कारण बढीजसो बाहिरबाटै आएका हुन्छन् । नियम कानूनको परिधिभित्र रहेर काम गर्नुपर्ने कारण पद्धतिले नमिल्ने कुरा उनीहरुले गर्न मिल्दैन । तर यस्ता नमिल्ने काम गर्नका लागि पनि दवाव सिर्जना गरी दुःख दिने हो भने प्रमुख प्रशासकीय अधिकृत उक्त पालिकामा बस्न नरुचाउनु स्वाभाविकै हो । नमिल्ने काम गर्दा आफू समेत फँस्ने भएका कारण कसैको स्वार्थलाई पूरा गर्न वा फाईदा दिलाउन कोही पनि तयार हुँदैनन् । कतिपय पालिकामा हाकिमलाई अन्यत्र जान बाध्य तुलाएर आफू निमित्त कार्यालय प्रमुखका रुपमा भएपनि काम गर्ने मौकाको तलासमा समेत त्यहाँका कर्मचारी रहेको नपाईएको होईन । यसका लागि कर्मचारी भित्रै गुटबन्दी सिर्जना गर्ने, हाकिमलाई अप्ठ्यारोमा पार्ने चलखेल समेत भएकै हुन् । आफ्नो स्वार्थपूर्तिका लागि धाकधम्की, बाहुबल प्रदर्शन लगायत अनेकन बखेडा झिकेर काममा बाधा उत्पन्न गरिँदा पनि त्यस्ता माथि कारवाही नहुनाले उनीहरुको मनोबल बढेर जानु स्वाभाविकै हो । पालिका वा कुनै पनि कार्यालयमा सहजताका साथ कार्यसम्पादनका लागि अनुशासनको पालना हुनुपर्ने कुरा पहिलो आवश्यकता हो । यस अन्तर्गत कार्यालयका सबै कर्मचारीले आ–आफ्नो फाँटको कामलाई नै प्राथमिकता दिएर सम्पादन गर्नुपर्ने हुन्छ । यसका विपरित काम गर्ने वातावरण विगार्नका लागि गुटबन्दी, विवाद सिर्जना गरी अवाञ्छित कार्य गरिन्छ भने उसमाथि अनुशासन उल्लंघनको आरोपमा कारवाही चलाईनु पर्दछ । यदि वातावरण विगार्दा पनि छुट वा उन्मुक्ति नै दिने हो भने यसले पालिकाको वातावरण अझै बिग्रेर नजाला भन्न सकिन्न ।
तसर्थ कार्यालय प्रमुखदेखि सबै कर्मचारीलाई सहजताका साथ कार्यसम्पादन गर्नका लागि वातावरणलाई बिगार्ने कार्य कदापि स्वीकार्य हुन सक्दैन । यसका लागि सम्बन्धित निकायको निगरानी अपेक्षित हुन्छ ।