राजविराज नगरपालिकामा चार दिन अघि तोडफोड भएको छ । सरसफाईकर्मी लगायतका कर्मचारीको तलव भुक्तानीको विषयमा विवाद भएपछि तोडफोडसम्मको घटना हुन पुगेको छ ।
नगरपालिकाकी कार्यवाहक प्रमुख र योजना अधिकृत बीचको मतमतान्तर पश्चात यस प्रकारको विवाद बढेको बताईन्छ । घटनामा एक पक्षले अर्को माथि आरोप लगाउन सक्छन् । वास्तविकता के हो भन्ने कुरा खुल्दै जाला । तर दोषी जो भएपनि आपसको विवादमा नगरपालिकाका भौतिक सामग्रीमाथि निशाना साँधेर तोडफोड गरिनु चाहीँ निन्दनीय हो । वैधानिक बाटो अवलम्वन गर्नुको साटो बल प्रयोग गरी नगरपालिकाको सम्पत्तिमाथि क्षति पु¥याउने कार्य कुनै पनि दृष्टिकेणले उचित हुन सक्दैन । जनताले पेटै काटेर भएपनि तिरेको तिरो र करबाट खडा भएको कोषले नगरपालिकाका पनि भौतिक सामग्री खरिद भएका हुन्छन् । त्यसैले कुनै पनि व्यक्ति विशेषले त्यसमा क्षति पु¥याउँछ भन्ने त्यो सरासर गैरकानूनी हर्कत मानिन्छ । बाहिरी व्यक्ति समेतलाई बोलाएर तोडफोड गराईएको भनी नगरपालिका सम्बद्ध स्रोतले नै बताएको छ । यदि यस्तै परम्परा बसाउने हो भने नगरपालिकामा आगामी दिनमा यो भन्दा ठूलो घटना नहोला भनेर कसरी विश्वस्त हुने? चालु आर्थिक वर्ष अन्त्यतिर रहेका कारणले पनि नगरपालिकामा भुक्तानीको चाप रहन्छ । विगतमा पनि भुक्तानीकै विषयलाई लिएर राजविराज नगरपालिकामा निकै खैलाबैला, विवाद र आन्दोलन भईसकेका छन् । प्रकृया पूरा भएकाको भुक्तानी रोक्न मिल्दैन भने कामै पूरा नगरेका र प्रकृया नपु¥याएकाहरुको भुक्तानी रोकिन्छ नै । तर दिनै नमिल्ने भुक्तानीमा समेत अनपेक्षित दवाव दिने, शक्ति प्रदर्शन अनि क्लमिच्याइँ गर्ने हो भने यस्तो पाराले नगरपालिकामा सहज ढंगबाट काम हुन नसक्ने निश्चित छ । आफूले भने अनुसार भएन भन्दैमा बाहिरिया व्यक्तिलाई समेत नगरपालिकामा ताण्डव मच्चाउने हो भने कसरी काम गर्न सकिएला? पद्धति मिचेर काम गर्न नचाहनेलाई बल प्रयोगबाटै ठेगान लगाउने सोच राखिन्छ भने त्यो सरासर अर्घेल्याइँ हुन्छ ।
तसर्थ नगरपालिकामा यस प्रकारका अवाञ्छित गतिविधि हुन नपाओस् भन्नाका लागि बाहिरियाको प्रवेश र शक्तिप्रदर्शन रोक्न आवश्यक छ । साथै नगरपालिकाको भौतिक सम्पत्ति संरक्षणका लागि सुरक्षाको प्रबन्ध मिलाईनु पर्दछ ।