राजविराज नगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयमा रकम अभावका कारण दिवाखाजा,पाठ्यपुस्तक लगायतको समस्या झेल्नु परिरहेको छ ।
शैक्षिक सत्र सुरु भएको दुई महिना भईसकेको छ । तर नगरपालिकाले बजेट निकासा नदिएका कारण विद्यार्थीले पाठ्यपुस्तक सम्म पाउन नसकेको अवस्था छ ।पठनपाठन नै प्रभावित हुँदा पनि त्यस प्रति चासो नलिएका कारण कतै राजविराज बालवालिकाको पठनपाठन प्रति जिम्मेवार बोध नगरिरहेको त होईन ? भन्ने आशंका उत्पन्न हुनु अस्वाभाविक होईन । जिम्मेवारी लिएपछि त्यसलाई समयमा पूरा गर्न सक्दा मात्र ठीक संग जिम्मेवारी पूरा गरेको मान्न सकिन्छ । तर पढाई सुरु भएको दुई महिना हुँदा पनि निकासा दिने सबालमा पनि नगरपालिकाले उदासिनता देखाउँछ भने कुन हिसाबले नगरपालिका विद्यालयका समस्या प्रति सम्बेदनशील छ भनेर मान्न सकिएला ? नगरपालिकाले विद्यालयमा पढाई ठीक तबरले भईरहेको छ कि छैन भन्ने विषयमा पनि अनुगमन गर्ने,जानकारी लिने जिम्मेवारी पाएको छ । यदि विद्यालयमा कुनै समस्याका कारणले पढाई ठीकसंग चल्न सकिरहेको छैन भने त्यस्ता समस्या समाधानमा पनि नगरपालिकाले नेतृत्व लिएर काम गर्न सक्नु पर्दछ । आफ्नै ढिलासुस्तीका कारणले बालवालिकाको पढाई समेत बिथोलिने अवस्था आउँछ भने यसलाई सामान्य रुपमा लिन कदापि मिल्दैन ।
तसर्थ पहिला आफ्नो जिम्मेवारी बोध गर्ने अनि त्यस अनुसार समयमा काम गर्ने परिपाटी बसाउन सकियो भने मात्र स्थानीय तहले गर्ने काम प्रति जनताले पनि सन्तोष मान्ने अवस्था आउन सक्ने छ ।