मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले प्रदेशका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थाको अनुगमनलाई तिब्रता दिँदै फेला परेका त्रुटी कमजोरी सुधार्न निर्देशन दिए भने कतिपयलाई कारवाही समेत चलाए ।
उनले अनुगमन गर्दा केही स्वास्थ्य संस्थाले चरम लापरवाही गरेको समेत भेटिएको छ । केही अबैध स्वास्थ्य संस्थामा त तालाबन्दी नै गरिएको छ । स्वास्थ्य क्षेत्र झै मधेश प्रदेशमा शिक्षामा पनि ब्यापक कमजोरी रहेको जनगुनासो छ । बढी जस्तो सामूदायिक विद्यालयहरुमा कमीकमजोरी भेटिएका कारण शिक्षाको अवस्था खस्कँदो छ । सामूदायिक विद्यालय स्थानीय तह (पालिका) मातहत रहने व्यवस्था गरिएका कारण त्यहाँका जनप्रतिनिधि माथि त्यहाँ राम्रो पठनपाठनको व्यवस्था मिलाउने गहन जिम्मेवारी पनि छ । तर धेरै जस्तो पालिकाले आफ्ना क्षेत्र भित्रका विद्यालयमा पठनपाठनको अभाव कस्तो चलिरहेको छ भन्ने चासो समेत नलिएको बताईन्छ । अन्य कामकै लागि बढी समय बिताउने गरेका भएपनि विद्यालयको अनुगमन गर्न पढाई कस्तो चल्दै छ भन्ने बुझ्न र विद्यमान समस्याको समाधान गर्न समय नदिएको आरोप छ ।
स्थानीय तहमा विकास गर्ने प्रतिबद्धता लिएर पदमा पुगेका जनप्रतिनिधिहरुले शिक्षाको स्तर उकासिनुलाई पनि विकासकै एक कडीका रुपमा लिन आवश्यक छ । शिक्षामा आउने सुधारबाटै चेतना र विकासको मार्ग प्रशस्त हुने कुरालाई विर्सन मिल्दैन ।