• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

लाखौं रुपियाँ खर्च गरेर राजविराज नगरपालिकाले गत वर्ष किनेको लामखुट्टे मार्ने औषधि अहिलेसम्म प्रयोग नगरीकनै थन्क्याएको भन्ने समाचार आएको आयै छ । तर, औषधी कहाँ छ र कहिले त्यसको प्रयोग गरिने हो भन्ने बारेमा नगरपालिकाले कुनै चासो लिएको देखिदैन ।
एकातिर लामखुट्टेको टोकाईले नगरवासी आक्रान्त छन् भने अर्को तर्फ भएको औषधी पनि नगरपालिका प्रयोग गर्न तत्परता देखाईरहेको छैन । औषधि किन्नुको प्रयोजन लामखुट्टे मार्नको लागि भएतापनि किनेर एक वर्षदेखि थन्क्याईएको छ । औषधी किन्दा पनि नगरपालिकाको स्वास्थ्य शाखासित समन्वय र सरसल्लाह विना नै खरिद भएका कारण उक्त औषधी कहाँ छ र कुन गुणस्तरको छ भन्ने बारेमा स्वास्थ्य शाखा नै अनभिज्ञ छ । औषधी नै कहाँ राखिएको छ भन्ने बारेमा स्वास्थ्य शाखालाई जानकारी नरहेको त्यहाँ कार्यरत शाखा प्रमुख नै बताउँछन् । नगरपालिकाले लामखुट्टे मार्न औषधी किनेको हो कि बजेट मात्रै सिध्याउने? अचेल यस प्रकारको प्रश्न उठ्न थालेको छ । तर नगरपालिकाले यसप्रति उति साह्रो चासो राखेको देखिँदैन । वडाध्यक्षहरुले लामखुट्टे मार्ने औषधी छिट्ने सोचका साथ नगरपालिकासित गत वर्ष खरिद गरेको औषधी माग्न जाँदा पनि दिइएको छैन ।
नगरवासीको स्वास्थ्यसित जोडिएको यो विषयलाई गोप्य राखेर समाधान निस्कँदैन । औषधीका बारेमा नगरपालिकाको धारणा के हो भन्ने कुरा पनि सार्वजनिक हुन आवश्यक छ ।