खेतीको समयमा किसानले उन्नत जातको वीऊ,रसायनिक मलको अभाव ब्यहोर्नु परेको कुरा नौलो रहेन । किनकी खेतीको सिजनमा यसको प्रायः अभाव नै रहँदै आएको छ ।
त्यस बाहेक सिँचाईको अभावका कारणले लगाएको वाली पनि सुकेर जानाले किसानले लगाएको लगानी र गरेको मिहिनेत पनि निरर्थक बनेर जाने गरेको छ । सकिनसकी गरेको उत्पादनको पनि उचित मूल्य नपाएपछि किसानमा उत्साह मरेर जानेमा सन्देह नै रहन्न । जताबाट पनि किसानलाई हतोत्साहित नै गरिएका कारण मुलुकको कृषि उत्पादनमा ह्रास आउने गरेको छ । यसका कारणले नै खाद्यान्नमा परनिर्भरता बढ्दो छ । सरकारले कृषिको उत्थान गरी आत्मनिर्भरतामा जोड दिईने बताईरहँदा यस प्रकारका कमी कमजोरीका कारणले परिणाम चाहिँ त्यसको ठीक विपरित देखा परिरहेको छ । कृषिमा आत्मनिर्भरता तव मात्र सम्भव छ जव किसानमा उत्साहको सञ्चार हुन्छ । तर यस प्रकारका बेथितिका कारणले किसान आफैं समस्या भोग्न बाध्य पारिन्छन् भने कसरी उक्त लक्ष हासिल गर्न सकिएला ? यस प्रकारका समस्यालाई सरकारले पहिले गहनताका साथ लिन आवश्यक हुन्छ । अनि ती समस्याको समाधान कसरी सम्भव हुन्छ भन्ने शूक्ष्म चिन्तनका साथ काम गरेर प्रमाणित गर्न सक्नु पर्ने हुन्छ ।
भाषण तथा आश्वासनका भरमा किसानको सबै समस्याको समाधान भईहाल्छ भन्ने सोच पालेर बस्ने हो भने कृषिमा उत्थानको कुरा सस्तो लोकप्रियताकालागि दिईने भाषणमा मात्रै सिमित भएर नरहला भन्न सकिन्न । यदि अवस्था यस्तै रह्यो भने खाद्यान्नमा आत्मनिर्भरता कसरी सम्भव होला ?