• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश सरकारले अघि सारेका विभिन्न योजना बिक्री हुन थालेको भन्दै प्रतिपक्षी दलका सांसदहरले केही साताअघि यसका बारेमा प्रश्न मात्र उठाएनन्, छानविनको समेत माग गरे ।
योजना बिक्रीकै लागि भौतिक निर्माण कार्यको चिठी सम्बन्धित कार्यालयमा नपाएको आरोपका साथ शिक्षा विकास ईकाई कार्यालय सप्तरीमा दुई साता अघि तालाबन्दी नै भयो । उक्त घटनाको १५ दिन पछि विभिन्न विद्यालयहरुको शिक्षा विकास तथा भौतिक निर्माण कार्यका लागि मधेश प्रदेशबाट पठाईएका अधिकांश चिठीहरु सम्बन्धित विद्यालयमा पुगेको भन्दै सोमबार ताला खोलिएको छ । बाँकी चिठी पनि बैशाख २५ गते भित्र सम्बन्धित विद्यालयमा पठाउने सहितका सम्झौता भएपछि ताला खोलिएको जानकारी दिईएको छ । अधिकांश विकासीय योजनाका चिठीहरु प्रदेशको राजधानी जनकपुरमै कमिशन लिएर बेच्ने गरेको थाहा पाएपछि राजविराजस्थित शिक्षा विकास ईकाई कार्यालयमा पनि तालाबन्दी गरिएको आन्दोलनरत पक्षको भनाई छ । यस्ता कार्य नरोकिए थप संघर्षमा उत्रने समेत ताला खोल्ने क्रममा उनीहरुले चेतावनी दिएका छन् । जनताले तिरेको कर, दस्तुरबाट खडा भएको राज्यकोषको रकमबाट नै जनतालाई विकासको प्रत्याभूति दिन विभिन्न विकास निर्माणका योजनाहरु अघि सार्ने गरिन्छ । ती योजनाहरु विधि प्रकृयाका आधारमा तोकिएको मापदण्ड र गुणस्तर भित्र सिमित रहेर सम्पादन हुन्छन् । योजनाको काम जसले पाएको हुन्छ उसले त्यस अनुसार समय सीमाभित्र काम सम्पन्न गरेपछि भुक्तानी पाउँछन् । तर छनौट भएका योजनाको पत्र जसलाई दिनु पर्ने हो त्यसो नगरी कमशिनको चक्करमा बीचमै अर्कोलाई बेच्ने गरिन्छ र सम्बन्धि कार्यालयमा समयमा पत्र पुग्दैन भने यो सरासर अनियमितता मानिन्छ । मिति बिगारेर कमिशनको लोभमा गरिने यस्ता कार्यले बदनामी बाहेक केही उपलब्धि नहुने निश्चित छ ।
अतः अहिले केही दिन यता सनसनी मच्चिएको यस्तो बेथिति माथि अंकुश लगाउनै पर्ने हुन्छ । नत्र यसले सुशासन, स्वच्छता र पारदर्शिताको खिल्ली उठाउन सक्छ भन्ने हेक्का राख्न आवश्यक छ ।