• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज वासीका तर्फबाट गठित संघर्षसमितिको अगुवाईमा सोमबार राजविराज नगरपालिकामा एक घण्टे धर्ना सम्पन्न भएको छ ।
ब्लक, बिटौरी जग्गा समस्याको समाधानका साथै विभिन्न आठ बूँदे माग अघि सार्दै संघर्ष समितिको आह्वानमा आन्दोलनको चरणबद्ध कार्यक्रम अघि सार्दै सोमबार यस्तो धर्नाको आयोजना गरिएको हो । बिटौरी जग्गाको लालपूर्जा नरहेका कारण अनेक प्रकारका समस्या झेल्नु परिरहेका कारण यसका बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै उपाय निकाल्ने भन्दा पनि सुनुवाई नै नगरेका कारणले बाध्य भई नगरवासी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले यस अघि पनि विभिन्न आन्दोलनका कार्यक्रम गरिसकेका छन् । स्थानीय प्रशासन तथा जनप्रतिनिधिको आग्रहमा दुई साता भित्र समस्याको समाधानकालागि के उपाय निकाल्न सकिन्छ भन्नेमा वस्तुस्थिति अध्ययनकालागि समय दिन माग गरेपछि दुई साताकालाथि आन्दोलन स्थगित पनि भएकै हो । तर पनि यसका बारेमा कुनै उपाय ननिकालिएका कारण फेरि अर्को चरणको आन्दोलन अहिले चलिरहेको हो । स्थानीय तहदेखि संसदमा उम्मेदवार बन्दा समेत धेरैले बिटौरी तथा ब्लक जग्गा उपभोग गर्दै आएकाहरुको समस्या समाधान गर्ने भनि प्रतिबध्दता जनाएकै हुन् । उनीहरु जितेर सत्तामा पुगेका भए पनि पीडितहरुका समस्या अहिलेसम्म पनि यथाबतै रहेका कारण जनताका समस्या प्रति ध्यान नदिएको भनि जनस्तरबाट प्रतिक्रिया आउन थालेको छ ।
समस्यामा परेकाहरुले त आन्दोलन गर्छन् नै । तर समाधानको जिम्मेवारी बोकेको सरकार तथा जनप्रतिनिधिले यसका बारेमा नसोचिदिने हो भने जनता कसरी आश्वस्त हुने ? धर्नाको अन्तर्य मनन गरी समस्या समाधान तर्फ लाग्न आवश्यक छ ।