एक समय सप्तरी जिल्ला पोखरी नै पोखरी भएको रुपमा चिनिने गर्दथ्यो ।
महत्वपूर्ण जलाशयका रुपमा रहेका पोखरीबाट सानातिना सिंचाई गर्न, हरियालीका साथै बातावरण शित्तल तुल्याउन, माछापालन गरी आय आर्जनमा टेवा पु¥याउन यिनै पोखरीबाट योगदान रहँदै आएको थियो । तत्कालिन गाउँविकास समिति, नगरपालिकाले ठेक्का लगाएर पनि राजस्व संकलन गर्ने गरेका थिए । तर आज त्यो अवस्था रहेन । धेरै पोखरीमा पानी सुकेका कारण तिनको अस्तित्व नै हराउन थालेको छ । पोखरी सुक्नाले त्यसबाट हुन सक्ने आम्दानीको बाटो समेत बन्द हुन लागेको छ भने सबै भन्दा ठूलो चिन्ता पानीको अभाव देखिदैछ । गाईवस्तुलाई पानी खुवाउन, करेसाबारीमा सिँचाई गर्न, माछापालन लगायतका व्यवसायमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ । मानवका लागि जलाशयको ठूलो महत्व यसकारणले रहन्छ किनकी यो जीवन पद्धतिसित जोडिएको विषय हो । सार्वजनिक पोखरी संरक्षणमा स्थानीय तहको भूमिका बढी रहने भएका कारणले पनि यो काममा अझै ध्यान नदिने हो भने कथंकदाचित आगलागी अनपेक्षित घटना भईदियो भने पनि आगो निभाउनका लागि पानीको अभाव व्यहोर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
सार्वजनिक पोखरी संरक्षणमा केही स्थानीय तहहरुले काम गरेको भए पनि अझै धेरै पोखरी संकटमा नै छन् । निजी पोखरीलाई समेत जोगाउनका लागि जनस्तरबाट यसको आवश्यकता र महत्वका बारेमा जानकारी दिँदै सार्वजनिक पोखरी संरक्षणका लागि जुट्न आवश्यक छ ।