• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

एक महिना लामो आन्दोलन गरेपछि बल्ल नेपाल शिक्षक महासंघ र सरकारका बीच ९ बुँदे सहमति भएको छ ।
शिक्षक आन्दोलनका कारण शैक्षिक गतिविधि नै नराम्रो सित प्रभावित रहँदै आएको थियो । सहमति पश्चात अब शिक्षकहरु राजधानी काठमाण्डौं केन्द्रीत आन्दोलनबाट आ–आफ्नो कार्यक्षेत्रमा फर्किने भएका छन् । अवरुद्ध रहेको भर्ना अभियान तथा १२ कक्षाको परीक्षा पनि तोकेको मितिदेखि नै सञ्चालन हुने वातावरण बनेको छ । उधारोमा सहमति गर्ने अडानमा शिक्षकहरु रहँदै आएका भएपनि मुख्य माग नयाँ शिक्षा ऐनका लागि केही साता कुर्नै पर्ने भएको छ । अन्तिम मिति नै उल्लेख गरी उक्त समयावधि भित्र शिक्षा ऐन जारी गर्ने सरकारका तर्फबाट प्रतिबद्धता आएपछि शिक्षकहरु पनि उक्त समयसम्म कुर्नका लागि तयार भएका छन् । अब सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारमाथि छ । संसदबाट नयाँ शिक्षा ऐन पास भए पछि यो जिम्मेवारी पूरा हुनेछ । विगतमा पनि सरकारसित यसबारे सहमति भएकै हो । तर त्यस अनुसार काम नभएका कारणले नै यति लामो शिक्षक आन्दोलन चर्किने अवस्था आएको हो । भएको सहमतिलाई कार्यान्वयन गरी उपयुक्त शैक्षिक वातावरण निर्माण तर्फ लाग्नुपर्ने आवश्यकता पनि भएकोले उक्त विषयलाई अब पनि थाँति नै राख्दा समस्या पुनः बल्झिन सक्ने छ ।
आन्दोलनरत शिक्षक महासंघले सहमति कार्यान्वयन नभए पुनः सशक्त आन्दोलनमा उत्रने समेत उल्लेख गरेका कारण यसप्रति ध्यान पु¥याउन आवश्यक छ ।