न्यूज टुडे
राजविराज, १४ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा आइतबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने आधादर्जन यात्रुहरू घाइते भएका छन् । उदयपुरबाट बिराटनगरतर्फ जादै गरेको प्र १-०१-००१ ख ३४२० नम्बर को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिन गई दुर्घटना भएको हो ।
दुर्घटनामा नाम थर वतन नखुलेको १ जना पुरुष र १ जना महिला गरी दुई जना बसमा च्यापिएर घटना स्थमै मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । मृतक दुबै जनाको सनाखत भइनसकेको तथा शव गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी ल्याएको उनले जानकारी दिए ।
दुर्घटनामा सप्तरी सप्तकोशी नगरपालिका १ बस्ने अन्दाजी बर्ष २१ को सुबेता दाहाल, सोही स्थानका बर्ष २६ को चेतना भट्टाई, झापा ३ बस्ने मनोज भट्टराई, सोही स्थानकी मिना भट्टराई, उदयपुर चौडण्डीगढी नगरपालिका ५ बस्ने अन्दाजी ५९ की कमला भुसाल,तत्काल नाम थर वतन नखुलेको अन्दाजी बर्ष ७५ का एक पुरुष गरि ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मध्यान्ह १२ बजे भएको दुर्घटनामा शरीरको विभिन्न भागमा चोटपटक लागी घाइते भएकाहरुको कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको एसपी खतिवडाले जानकारी दिए ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वका टोली खटी उद्धार कार्य भइरहेको तथा बसका चालक फरार भएकोले खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।