न्यूज टुडे
राजविराज, ०९ बैशाख ।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था रुपनी शाखाबाट आफुहरुले गरेको बचत लिन पनि ठूलो सकस भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । संस्थाले विभिन्न प्रलोभन र प्रभावमा पारी बचत गर्न लगाएर समस्या परेको बखत बचत झिक्न जाँदा विभिन्न बहना गरि त्यसै फर्काउने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गरेका हुन् ।
सोझासाझा महिलाहरुलाई बचत गर्न उक्साएर गरिएको हजारौं बचत फिर्ता नपाएको सेवाग्राही सरस्वती तामाङले बताइन् । बर्षौदेखि आफुले गरेको बचत फिर्ताका लागि स्वावलम्वन लघुवित्त वित्तीय संस्था रुपनी शाखामा धाउँदा समेत सुनुवाइ नभएको उनले गुनासो गरिन । उनले संस्थाबाट आफूहरु ठगिएको अनुभुती हुन थालेको बताइन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ की भावना तामाङले आफ्नो बचत फिर्ता गरिदिन रुपनी शाखामा निवेदन दर्ता गराएको महिनौं वितिसक्दा समेत कुनै कारबाही अगाडि नबढाएको बताइन् ।
“आफुले इमानदारीकासाथ संस्थाबाट लिएको ॠण समयमै चुक्ता गरेको झण्डै २ बर्ष पुग्यो’ उनले भनिन्,’संस्थाबाट निस्किने भनी पटकपटक लिखित तथा मौखिक आग्रह गरेँ तर बचत पाउन त टाढाको कुरा किस्ता उठाउनु आउने सरको रुखो व्यवहारले पीडा थप्ने बाहेकको अन्य सेवा पाइनँ ।’
उनले स्वावलम्वन लघुवित्त वित्तीय संस्थाको झुठो आश्वासन र धन्दाले आजित भएपछि सासू आमादेखिको दुई दशकबढी समयदेखि आवद्ध संस्थाबाट निष्निने निर्णयमा पुगेको बताइन् । उनले शाखा प्रबन्धकसंग गुनासो गरेपछि पेन्सन बचत पाएपनि समुह बचत अझै नपाएको बताए । उनले बैशाखमा आउनु भनेपछि निवेदन दर्ता गरेको तीन महिनापछि रुपनी शाखामा सम्पर्क गर्न जाँदा साउन-भदौ पछि फेरि एकपटक कार्यालयमा सम्पर्क गर्नुभन्दै खाली हात फर्काएको जानकारी दिइन् ।
उनले आफुजस्ता सयौं सोझासाझा महिलाहरु स्वावलम्वन लघुवित्त वित्तीय संस्थाको ठगीको सिकार भएको दुखेसो सुनाइन् । संस्थाको अमुक धन्दाले लघुवित्तमा आबद्ध हजारौं सदस्यहरु मारमा परेको उनको भनाइ छ ।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था रुपनी शाखाका प्रबन्धक सुदिप पोखरेलले सेवाग्राहीले भन्नसाथ बचत फिर्ता गर्न नसकिने बताए । उनले ॠण लिदा समुह नै धितो जमानी हुनेभएकोले समुहमा आवद्ध सदस्यहरुले ॠण चुक्ता नगरेसम्म कसैको बचत फिर्ता तथा सेवाग्राहीले चाहेको समयमा संस्थाबाट निस्कन नमिल्ने बताए । उनले सेवाग्राहीले गरेको बचत ढिलै भएपनि फिर्ता पाउने तथा ठगी नहुने स्पष्ट पारे ।