• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विभिन्न योजनाको ठेक्का लिएर पनि ठेकेदार कम्पनीले समयमा काम नगरेका उदाहरण धेरै छन् । ठेक्का बापतको रकममा निर्धारित समयसीमा भित्र काम पूरा गर्ने कबोल गरिसकेपछि त्यसलाई पूरा गराउने जिम्मेवारी सम्बन्धित ठेकेदार कम्पनीको हुने कुरामा द्विधा नहोला । तर यसरी जिम्मेवारीका साथ काम गरेको उदाहरण चाहिँ बिरलै देख्न पाईएको छ ।

विशेष गरी सडक तथा पुल निर्माणमा ढिलासुस्ती भएका कारण जनताले सास्ती खेप्नु परिरहेको छ । उच्चपदस्थहरु लामो दूरीको यात्राका क्रममा बढी जसोले सडक मार्ग भन्दा पनि हवाई यातायातको प्रयोग गर्ने भएका कारण जनताले कस्तो प्रकारको सास्ती भोग्नु परिरहेको हुन्छ भन्ने बारेमा उनीहरु एक प्रकारले अनभिज्ञ नै रहने गरेका हुन्छन् । जनताले कस्तो सास्ती भोग्नु परेको हुन्छ भन्ने कुरा हवाई यात्रा गर्नेलाई अनुभूत नहुनु स्वाभाविकै पनि हो । यिनै सडक निर्माणको ठेक्का लिएर ठेकेदारले वर्षौसम्म झुलाई रहँदा त्यस्तामाथि कारवाही चलाउनु त कता हो कता उल्टै पटक पटक म्याद थप्ने काम भएका कारणले त्यस्ताको मनोबल बढ्ने गरेको छ । ठेकदारले पैसा कमाउने,ढिलाई गरेर पनि छुट पाउने तर जनताले सडक यातायातका क्रममा सधैं सास्ती नै ब्यहोरिरहनु पर्ने हो भने यसले आक्रोश नै बढाउनेमा शंका नरहला ।

त्यसैले समयमा काम नगर्नेमाथि कारवाही चलाउनु पर्दछ । उसको ढिलाईका कारण सर्वसाधारणलाई सास्ती भोगाउने काम किमार्थ उचित हुन सक्दैन । म्याद मात्र थप्ने हो भने त्यस्ताको मनोबल अझै बढेर जान्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।