विद्यालय शिक्षा विधेयक यथाशिघ्र जारी गर्नुपर्ने माग लिएर यति बेला दशैं भरिका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले बुधबारदेखि ‘काठमाण्डौं जाऔं’ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न थालेको हो । प्रत्येक दिन बिहान ११ देखि ४ बजेसम्म माईतीघर–बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम शिक्षकहरुले तय गरेका छन् । उनीहरुको आन्दोलनप्रति विद्यालयका कर्मचारीहरु समेतको समर्थन छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारलाई दवाव सिर्जना गर्न आन्दोलन सुरु गरिएको महासंघका पदाधिकारीहरुको भनाई छ । विद्यालय शिक्षा ऐन जारी नगराईकन काठमाण्डौंबाट नफर्कने उनीहरुको अडान छ । शिक्षकहरुले आफ्ना माग अघि सारेर आन्दोलनमै उत्रनुपूर्व सरकारलाई यसका बारेमा पूर्व जानकारी नदिएका होइनन् । तर समयमै त्यसको सुनुवाई नगरीदिने र अवस्था गम्भीर भईसकेपछि मात्रै वार्ता गर्नेतिर लाग्ने परिपाटी हट्न नसकेका कारणले नै यस प्रकारको स्थिति आउने गरेको मान्न सकिन्छ । विद्यालय छाडेर शिक्षकहरु राजधानी केन्द्रित हुन थालेका छन् । यसले गर्दा शैक्षिक गतिविधिमा सोझै प्रभाव परिरहेको छ । राजधानीमै आएर प्रदर्शन तथा धर्ना गर्दा पनि सरकारले उनीहरुका बारेमा चासो लिनु भन्दा पनि अन्य–अन्य कुरामा समय विताएको भनी शिक्षकहरुले नै बताउने गरेका छन् ।
समस्याको तत्कालै सुनुवाई गर्ने, आन्दोलनरत पक्षका कुरा सुन्ने तथा आप्mनो धारणा बताएर अवस्था सामान्य तुल्याउने तर्फ पहलकदमी लिने जिम्मेवारी सरकारकै भएका कारण शैक्षिक क्षेत्रमा उत्पन्न यो असजताको शिघ्र हल निकाल्नेतर्फ ध्यान दिन जरुरी छ ।