मुलुकभरि नै यतिबेला आर्थिक मन्दी छ । यसले गर्दा धेरैको रोजगारी गुमेको छ भने ब्यापारी व्यवसायी विगतको तुलनामा व्यवसाय, व्यापार नचल्दा निराश बनेका छन् ।
सप्तरीको अवस्था त अझै भयावह बन्दै गएको यहाँका ब्यापारी व्यवसायीहरुकै भनाईबाट बुझ्न सकिन्छ । नजिकै सीमानाका रहेका कारण त्यहाँबाट हुने गरेको तस्करीका कारण यहाँका ब्यापारीहरुको मलसामान विक्न छाडेको छ, व्यवसाय चल्न छाडेपछि बैंकको किस्ता बुझाउनेसम्मको अवस्था नरहेको धेरैको भनाई छ । भन्सार चोरी गरी भित्र्याईएका सामानसित भन्सार तिरेर आएका सामान महँगो पर्ने भएका कारणले ती टिक्न सक्दैनन् । अर्को तर्फ विभिन्न नामबाट असुल्ने गरिएको चन्दाका कारणले व्यापारीहरु हैरान बनिसकेको अवस्था छ । सप्तरी उद्योग बाणिज्य संघले हालै पत्रकार सम्मेलन नै आयोजना गरेर बढ्दो तस्करी र चन्दा मागका कारणले व्यापारीहरुलाई टिक्न सक्ने अवस्था सम्म नरहेको पीडा व्यक्त गरेको छ । राजनीतिक दल, तिनका भातृ संगठन तथा विभिन्न धार्मिक कार्यका नाममा चन्दा माग्न आउनेहरुको संख्या अत्यधिक रहेका कारणले आफूहरु साह्रै हैरानीमा परेको संघका अध्यक्षले नै बताएका छन् । बैंकको किस्ता तिर्न समेत समस्या भोगीरहेका व्यापारीहरुमाथि चन्दाको भारसमेत थपिन्छ भने यसले उनीहरुलाई विचलित तुल्याउँछ नै ।
तसर्थ उद्योगी, व्यापारीहरुको हितलाई ध्यानमा राख्दै बढ्दो तस्करी रोक्ने तर्फ कदम चाल्नु पर्ने आवश्यकता त छँदैछ । यसका साथै चन्दाका लागि दबाब दिने कामप्रति पनि सोच्न जरुरी छ ।