• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

चैत १५ गते काठमाण्डौंको तीनकुनेमा राजातन्त्र पक्षधरहरुले गरेको कार्यक्रममा दुई जनाको ज्यान गएको छ ।
समाचार संकलनमा गएका एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई आगो लगाएर हत्या गरिएको र कीर्तिपुर निवासी युवा सविन धमलालाई गोली हानेर हत्या गरेको भन्दै सडकदेखि सदनसम्म उक्त घटनाको ब्यापक विरोध सुरु भएको छ । कार्यक्रम हिंसात्मक भएको कारणले सञ्चार गृह, राजनीतिक दलको कार्यालय, सपिंग मल तथा व्यक्तिगत घरमा समेत तोडफोड, लुटपाट, सवारी साधनहरुमा र जडिबुटी कम्पनीमा समेत आगजनी जस्ता हिंसापूर्ण कुकृत्य भएका छन् । यत्रोविघ्न क्षति हुने गरी खिध्वंश मच्चाउँदा पनि सुरक्षा व्यवस्था सुदृढ नदेखिएको भन्दै सरकारको समेत आलोचना सुरु भएको छ । लोकतन्त्रमा आफूलाई लागेको उचित कुरालाई लिएर विरोध गर्न पाईन्छ । तर यसका पनि सीमा हुने भएका कारण त्यसको उल्लंघन गर्न चाहीं कदापि मिल्दैन । दुई–दुई जनाको ज्यानै जाने गरी भएको हिंसात्मक घटनाका क्रममा कैयौं घाईते समेत भएका छन् । ती मध्ये कतिपयको गम्भीर अवस्था छ । पत्रकारको हत्या तथा सञ्चार गृहमाथिको आक्रमणको विषयलाई लिएर नेपाल पत्रकार महासंघले विरोध र आन्दोलन नै सुरु गरेको छ ।
उक्त हिस्रक घटनामा दुई जनाको ज्यानै गएका कारण घटनाको सुक्ष्म अनुसन्धान सहित त्यसमा संलग्नमाथि कारवाही गरिनुपर्दछ । आमसभा वा प्रदर्शनका क्रममा हिंसा गर्न कसैलाई छुट हुँदैन । सरकारले सुरक्षाको सवालमा प्रभावकारीताका साथ लाग्न आवश्यक छ ।