मधेशका मुख्यमन्त्री सतीषकुमार सिंहले सिरहाको मिर्चैयामा १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दा १३ वटा अवैध फेला परे । मुख्यमन्त्री सिंहले प्रदेशको राजधानी जनकपुरमै अवैध स्वास्थ्य संस्था सञ्चालनमा रहेको आशंकापछि यो अभियानलाई त्यहीँबाट सञ्चालन गर्दै प्रदेशभित्रका अन्य जिल्लामा समेत अनुगमन थालेका छन् ।
सबैजसो जिल्लामा अवैध रुपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भेटिएका समाचार आई नै रहेका छन् । कतिपय स्वास्थ्य संस्थामा सञ्चालक सटर झारेर भागाभाग हुने गरेका छन् । अहिलेसम्म फेला परेका तथ्यका आधारमा हेर्दा अधिकांश अस्पतालमा विरामीको स्वास्थ्यमाथि खेलवाड र चरम लापरवाही गरेको खुल्न आएको छ । कुरा मिर्चैयाको मात्र नभई अनुगमन गरिएका अन्य जिल्लाको अवस्था पनि यही नै छ । स्वास्थ्योपचार जस्तो विषयमा यो हदसम्मको लापरवाही देखिन थालेपछि जनताको स्वास्थ्यमा रक्षा कसरी हुन सक्ला भन्ने प्रश्न पनि यसले खडा गरेको छ । उपचारका नाममा महँगो शुल्क लिने, अदक्ष व्यक्तिलाई राखेर स्वास्थ्य संस्था चलाउने, बोर्डमा एक डाक्टरको (विशेषज्ञको) नाम राख्ने अनि कामचाहीं अर्कै व्यक्तिले गर्ने, अनुगमन टोली आउँदा स्वास्थ्य संस्था नै बन्द गरेर भाग्ने जस्ता लापरवाही र गैरजिम्मेवार पूर्ण कार्य भईरहँदा पनि त्यस्तामाथि कारवाही भन्ने गरेको पाईन्न । जसरी पनि पैसा कमाउने सोचका साथ विरामीमाथि हुने गरेका यस प्रकारका लापरवाहीपूर्ण कामलाई कडाईका साथ नियन्त्रण नगर्ने हो भने यो बेथिति अझै बढेर जाने सम्भावनालाई नकार्न सकिन्न । मुख्यमन्त्री सिंहले निजी स्वास्थ्य संस्था अनुगमन थालेपछि अहिले यो बेथिति उदांगिएको छ । तर उनी भन्दा अगाडि पनि यस्तो अनुगमन गरिएको भए अहिलेसम्म विरामीले यस्ता अबैध स्वास्थ्य संस्थाबाट ठगिनु पर्ने अवस्था आउने थिएन होला ।
अहिलेसम्म जे जस्ता लापरवाही र गैरजिम्मेवारपूर्ण कार्य भेटिएका छन् तिनमाथि कारवाही नचलाई त्यसै छाडिदिने हो भने भविष्यमा यस्ता विकृति फेरि पनि नदोहोरिएलान् भन्ने सकिन्न । जनताप्रतिको जिम्मेवारी बोधका साथ पैसा कमाउन यस्ता अवैध धन्दामाथि कडाईका साथ नियन्त्रणतर्फ लाग्न जरुरी छ ।