न्यूज टुडे
राजविराज, १६ चैत ।
स्थानीय सरकारको विज्ञापन स्थानीय मिडिया तथा पत्रकारलाई दिनुपर्ने मागसहित ५ बुँदे छिन्नमस्ता घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाको बैठक शुक्रबार सम्पन्न भएको छ । महासंघ शाखा सप्तरीका सचिब खगेन्द्र कार्कीद्वारा शनिबार प्रेस विज्ञप्ति मार्फत बैठकको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीको बैठक देशकै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिर परिसरमा भएको बैठकले विभिन्न निर्णय गर्दै ५ बुँदे छिन्नमस्ता घोषणापत्र समेत जारी गरेको सचिब कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकले छिन्नमस्ता मन्दिरसहितका जोडिएका अधुरो सडक संजाल निर्माण कार्य सुचारु गराउन तथा स्थानीय पत्रपत्रिकाको वृत्ति विकासका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरिएको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘राजविराज- छिन्नमस्ता सडक निर्माणको ठेक्का लागेपनि काम सुरु नगर्दा छिन्नमस्ता मन्दिरमा पूजापाठ एवम् दर्शनका लागि आउने श्रदालूलाई सास्ती भोग्नु परिरहेकोले अविलम्ब सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँँदछौं, छिन्नमस्ता भगवती मन्दिर संरक्षण, सम्बर्द्धन समितिको बिधान बनाउँन ढिलो हुँदा कामकाज तथा गतिविधि गर्न विभिन्न समस्या आइरहेको हुँदा अविलम्ब विधान बनाएर कार्यान्वयन ल्याउन सम्बन्धि निकायको ध्यानाकर्षण गराउँदछौ, छिन्नमस्ता मन्दिर छेउमा मदिरा पसलहरु निर्वाद रुपमा संचालन भइरहेकोले त्यसलाई व्यवस्थित गराउन सम्बन्धि निकायको ध्यानाकर्षण गराउँदछौ’ महासंघले जारी गरेको छिन्नमस्ता घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसैगरी ‘सप्तरी जिल्लाका मिडियाहरु धारासायी हुने क्रममा छ ।त्यसतर्फ स्थानीय सरकार गम्भीर बन्नुपर्ने हो । स्थानीय सरकारको विज्ञापन स्थानीय मिडियालाई दिनुपर्ने हो । तर, यहाँका मिडिया/ पत्रकारहरुलाई बेवास्ता गरि पालिकाले बाहिरका मिडिया एवम् पत्रकारहरुलाई विज्ञापन उपलब्ध गराउँदै आएको छ ।तसर्थ पालिका एवम् यहाँका सरकारी कार्यालयले सप्तरीकै मिडियालाई समानुपातिक तरिकाले विज्ञापन उपलब्ध गराउन यो बैठकले माग गर्दछ, पत्रकारलाई रिपोर्टिङ गर्न कुनै बाधा, अवरोध नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै पत्रकारलाई पनि आचारसंहिताको पालना गरेर रिपोर्टिङ गर्न आग्रह गर्दछ ।’ महासंघद्वारा जारी ५ बुँदे छिन्नमस्ता घोषणापत्र जनाइएको छ ।
महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला शाखा प्रबक्तामा सचिव कार्कीलाई तोक्ने निर्णय गरिएको महासंघ सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।