सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का वडाध्यक्ष करीब दुई महिनादेखि कार्यालयमा उपस्थित हुन छाडेका छन् ।
वडा सचिव सरुवाको विषयलाई लिएर नगरपालिकाका मेयर तथा वडाध्यक्ष बिचको विवाद सतहमा पुग्नाले उनी कार्यालय जान छाडेका हुन् । साविकका वडा सचिवलाई वडा नं. ३ मा तथा वडा नं. ८ का सचिवलाई वडा नं. १ मा सरुवा गरिएपछि वडाध्यक्ष कार्यालय आउन छाडेको स्थानीयको कथन छ । वडाध्यक्ष र मेयरका बीचको यस्तो विवादले मर्कामा चाहीँ सेवाग्राही जनता पर्न थालेका छन् । वडाध्यक्ष कार्यालयमा नआउँदा उनी मार्फत सम्पादन हुने सबै कामकाज प्रभावित भएका कारण यसबाट सेवाग्राहीलाई समस्या परेको हो । वडाध्यक्ष हुन वा मेयर, दुवै जना जनप्रतिनिधि नै रहेका कारण जनताले दुःख पाउने अवस्था नआओस् भन्ने हेक्का राख्नु उनीहरुको जिम्मेवारी पनि हो । स्थानीय तहहरुमाथि अहिले स्थानीय सरकारकै जिम्मेवारी पनि छ । स्थानीय स्तरबाटै धेरै जसो काम सम्पादन हुने भएका कारण वडादेखि पालिकासम्म सेवाग्राही जनताको आवागमन पनि बढी रहने गरेको छ । यस्तो व्यवस्था भएर पनि दुई महिनादेखि वडाध्यक्ष कार्यालय नआउँदा अहिलेसम्म कति जनाले कामै नभएर निराश भई फर्किनु परेको हुन सकछ ।
पालिका प्रमुखका रुपमा रहेका मेयरले पनि वडाका जनताले दुःख पाउनु पर्ने यस्तो अवस्था नआओस् भन्नका लागि चासो लिएर अवस्था सहज बनाउनेतिर ध्यान केन्द्रित गर्न सके त्यो अझै सकारात्मक मानिने छ । जनतालाई समस्या नहोस् भन्नेमा सबै जनप्रतिनिधिले सोच्नै पर्ने हुन्छ ।