सप्तरीमा अचेल दैनिक जसो आगलागीका घटना भई नै रहेका छन् । गोठमा बालेको घुर, थ्रेसर, विद्युत सर्ट भएर तथा अन्य कारणले आगलागी हुने गरेका छन् ।
आगो नियन्त्रणमा स्थानीय तहका वारुण यन्त्रलाई भ्याई नभ्याईको अवस्था छ । वारुण यन्त्र नरहेका पालिकामा आगो लागे त्यहाँ पनि नियन्त्रणका लागि खट्नु पर्ने भएकोले यस्तो भ्याई नभ्याई भएको हो । आगलागी हुन त दिनका लागि सचेतना अपनाउनु नै प्रभावकारी उपाय हो । ग्रामीण भेगमा खेतिपाती तथा पशुपालनको काम बढी हुन्छ । सुकेको खडा पराल, काठ, फुसका संरचना बढी रहेका कारण त्यस्तो सचेतना अपनाउनमा पनि बढी ध्यान दिनु पर्ने हुन्छ । त्यसमाथि पशुपालन समेत गरिने र तिनलाई लामखुट्टेबाट जोगाउन घुर बाल्ने प्रचलन पनि ग्रामीण भेगमा बढी रहने गर्दछ । घुरबाट सल्कने आगो फैलिएर क्षति पु¥याउने गरेका कारण यस्ता कुरामा विशेष निगरानीको आवश्यकता हुन्छ । आगलागी रोक्न, न्यूनिकरण गर्ने सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा बढाउनु पर्ने आवश्यकता छ नै । यसका साथै हावाहुरी चलेको समयमा चुलो नबाल्ने घुर नलगाउने जस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ ।
एक जनाले नअपनाएको सजगताका कारणले पनि आगालागी हुन सक्दछ र यसले अरुको पनि क्षति हुने भएका कारण यसलाई सार्वजनिक चासोका रुपमा बुझ्नुपर्ने आवश्यकता छ । सबैको सामूहिक सजगताबाट नै यो त्रासदीलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने वास्तविकतालाई नकार्न मिल्दैन ।