यतिबेला एसईई परीक्षा चलिरहेको छ । परीक्षा मर्यादित तुल्याउनका लागि जिल्ला जिल्लामा परीक्षा समितिको सक्रियता बढेको छ ।
सप्तरीमा पनि परीक्षामा चीट चोरी लगायतका अमर्यादित कार्य हुन नपाओस् भनी परीक्षा समितिले सक्रियता बढाएको छ । मर्यादा उल्लंघन गरेका केही माथि कारवाही पनि गरिएको छ । परीक्षाको मर्यादामाथि आँच आउन नपाओस् र स्वच्छ तरिकाबाट शान्तिपूर्ण परीक्षा दिने वातावरण होस् भनी सम्बन्धित निकायले कडाई गर्छ भने त्यसलाई स्वागत नै गर्नु पर्ने हुन्छ । किनकी मर्यादित परीक्षाले नै परीक्षार्थीको पढाईको स्तरका बारेमा थाहा पाउन सकिन्छ । तर कडाई मात्र गरेर पढाईको स्तर उकासिन्छ र शैक्षिक उन्नयन भईहाल्छ भन्न चाहीँ सकिन्न । वर्षभरि विद्यार्थीले विद्यालयमा कस्तो पढाई पढे? विद्यालयमा विषयगत शिक्षक उपलब्ध भए कि भएनन्? शिक्षण सामग्री तथा भौतिक कुराहरुका व्यवस्था कस्तो रह्यो भन्ने कुराले पनि पढाईको स्तरमा सुधारका लागि महत्व राख्दछ ।
वर्षभरि नियमित कक्षा सञ्चालन गरी विद्यार्थीलाई पढाउने व्यवस्था भएमा यसले परीक्षामा राम्रो गर्न मद्दत गर्दछ । त्यसैले परीक्षा सँगै यस्ता कुरामा पनि कमजोरी नहोस् भन्ने बारेमा पनि चासो राख्न आवश्यक छ ।