जलवायु परिवर्तनको असर हिमनदीमा परिरहेको र त्यसले गर्दा मुलुकमा खानेपानी कृषि र जलविद्युत क्षेत्र समेत प्रभावित हुन थालेको छ ।
यस्तो प्रभाव रोक्नका लागि हिमनदीको संरक्षण गर्नु पर्ने कुरा निर्विवाद छ । जलवायु परिवर्तनको विषयलाई लिएर विश्वभरि नै चिन्ता व्यक्त गरिँदै छ । पृथ्वीको प्राकृतिक प्रक्रिया भित्र पर्ने गतिविधि नै जलवायु परिवर्तन हो । यो पृथ्वीको मौसममा आएको फेरबदल वा परिवर्तन पनि हो । अचेल पृथ्वीमा मौसम परिवर्तनको क्रम दिनानुदिन बदलिँदै गएको छ । यसले गर्दा कुन मौसम कति बेला सुरु हुन्छ भन्न सकिन्न । ओजोन तह विनाश गर्ने विषाक्त ग्याँसको वायुमण्डलमा वृद्धि भईरहेको अवस्था छ । बैज्ञानिकहरुका अनुसार सन् १९६० को दसकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या वृद्धिले ल्याएका नकारात्मक असरका पृथ्वीमा जलवायु परिवर्तन हुँदै गएको छ । वनज·लको विनाश बढेका कारण वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दो छ । यसले जलवायु परिवर्तनमा कारकको काम गर्ने गरेको छ । यसको बढी असर नेपाल जस्ता विकासोन्मुख मुलुकले भोग्नु परिरहेको छ । हिमालय क्षेत्र नजिकको भूभागमा यसको नकारात्मक असर परिरहेको छ ।
हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रममा वृृद्धि भएका कारण हिमनदीको सुरक्षा कसरी गर्न सकिएला भन्ने चिन्ता थपिँदै छ । समयमै यस्ता कुरामा ध्यान नदिने हो भने आगामी दिन अझै संकटपूर्ण नबन्लान भन्न सकिन्न ।