• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको प्रमुखका रुपमा आएका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट निवेदन लेखाएर ल्याउनु नपर्ने बताएका छन् ।
बिहीबार महुलीमा आयोजित परिचयात्मक कार्यक्रममा उनले त्यस्ता सेवाग्राहीका लागि कार्यालयमै निवेदन लेख्ने व्यवस्था मिलाईने जानकारी दिएका हुन् । यसरी आउने सेवाग्राही मध्ये कतिपय आफैले निवेदन लेख्न नसक्ने पनि हुन सक्छन् । उनीहरुका लागि बाहिर निवेदन लेखाउँदा समय लाग्ने र खर्चिलो पनि हुने भएका कारण सम्बन्धित कार्यालयमै त्यस्तो व्यवस्था मिलाउनुलाई सकारात्मक कार्य नै भन्नु पर्दछ । कतिपय सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले समयमा काम नगरिदिएको, अनेक थरिका अत्तो थापेर झुलाई दिने गरेको गुनासो नगरेका होईनन । शान्तिसुरक्षा देखि अन्य विभिन्न जिम्मेवारीको काम सम्पादनको जिम्मा रहेको प्रहरी कार्यालयमा सेवाग्राहीहरुको चाप रहन्छ नै । यस्तो परिस्थितिमा पनि सेवाग्राहीलाई थोरै भएपनि सहज होस भन्ने सोचका साथ कार्यालयमै निवेदन लेखिदिने व्यवस्था मिलाउने कार्य पक्कै पनि सकारात्मक हो । निवेदनका लागि सहज व्यवस्था बनाईदिए जस्तै जनतालाई समयमै काम गरी दिएर पठाउने र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने कार्य पनि इलाका प्रहरी कार्यालय कञ्चनपुरले ध्यान दिन सके यसले प्रहरीप्रति जनतामा अझै सद्भाव र विश्वास बढ्ने छ । सुरक्षा व्यवस्था सुदृढ तुल्याउनमा प्रहरी मात्रको एकल प्रयास भन्दा पनि जनस्तरमा सुमधुर सम्बन्ध स्थापित गरी यो जिम्मेवारीलाई अझै प्रभावकारी रुपले पूरा गर्न सकिन्छ ।
सेवाग्राहीका समस्या, गुनासा र सुझाव सुनेर आफूले गरीदिनु पर्ने काम समयमै गरिदिनाले यसबाट जनता र प्रहरी बीचको सम्बन्ध अझै सुदृढ भएर जाने छ ।