• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आजदेखि एसईई परीक्षा सुरु हुँदैछ । सप्तरीमा पनि यसको आवश्यक तयारी पूरा भईसकेको आधिकारिक निकायले जानकारी दिईसकेको छ ।
विद्यार्थीले पढेको कुरा कति बुझे भन्ने मापन र उनीहरुको त्यस बारेको अभिव्यक्त गर्ने स्तर जाँचका लागि यो परीक्षा लिईएको हो । यस मानेमा विद्यार्थी स्वयम्ले मौलिकताका आधारमा प्रश्नको उत्तर दिँदा मात्र उसको पढाई, लेखाई, बुझाई र अभिव्यक्त गर्ने क्षमताको सही परख हुन सक्ने छ, जुन परीक्षाको उद्देश्य पनि हो । सबै विद्यार्थीको समान बुझाई र त्यसको अभिव्यक्त गर्ने क्षमता एकसमान हुँदैन । यही कारणले परीक्षाको परिणाममा पनि भिन्नता देखिने गरेको हो । विद्यार्थीको मौलिकताको परख गर्ने समयमा बाहिरी सहयोग चोरी, अरुको नक्कल गर्ने परिपाटी ग्राह्य हुन सक्दैन । यसले परीक्षाको मर्यादालाई नै दूषित तुल्याउँछ । परीक्षामा हुन सक्ने मिलिभगत, सेटिंग तथा बाहिरी सहयोगको गुञ्जाईस नरहोस् भन्ने धेयका साथ मधेश प्रदेश सरकारले एसईई परीक्षामा केन्द्राध्यक्षको चयन गोला प्रथाबाट गर्न निर्देशन दिएको थियो । तर शिक्षक संगठनहरुले त्यसलाई नमानेको र फलस्वरुप आफू एसईईको प्रक्रियाबाट अलग भएको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिषकुमार सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन मार्फत बताई सकेका छन् । प्रदेश सरकार एसईईको प्रक्रियाबाट अलग भएपनि तोकिएको मिति र समयमा नै परीक्षा हुने नै छ ।
तसर्थ त्यसलाई मर्यादित रुपमा सञ्चालन गर्नका लागि जिल्ला स्तरीय परीक्षा समिति माथि नै मूल जिम्मेवारी रहेको छ । परीक्षाको मर्यादा उल्लंघन गर्दै अवाञ्चित गतिविधि हुन थाले भने त्यो ग्राह्य नहुने निश्चित नै छ । मिहिनेतका साथ तयारी गरी परीक्षा हलमा आएका मेधावी विद्यार्थीहरुका लागि परीक्षाको मर्यादा उल्लंघनले प्रत्यक्ष परोक्ष हानी पु¥याउन सक्ने कुराप्रति पनि नजरअन्दाज गर्न मिल्दैन । मर्यादित परीक्षा होस् भन्नाका लागि परीक्षा समितिका पदाधिकारीहरु माथि त जिम्मेवारी छ नै । यसका साथसाथै स्वयम् परीक्षार्थी, अभिभावक, परीक्षामा खटेका सम्पूर्ण जनशक्ति लगायत सम्बन्धित सबैको सहयोग पनि अपेक्षित छ । परीक्षामा सहभागी सबैमा सफलताको शुभकामना !