• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी आगलागीका घटना बढी हुने जिल्लामा पर्दछ । वर्षामा बाढी, ठण्डी याममा शितलहर तथा सुक्खा र हावाहुरीको समयमा आगलागीको बितण्डालाई यहाँका बासिन्दाले खेप्दै आएका छन् ।
गत वर्ष चिम्टीमा सबैभन्दा ठूलो आगलागीको घटना भयो । त्यस बाहेक पनि जिल्लाका अन्य स्थानमा लागेको आगोले धेरै क्षति पुर्याएकै हो । सुक्खा याममा विशेष गरी हावाहुरीका समयमा आगलागीबाट बँच्न सचेतना अपनाउनु भनि प्रचार प्रसारका कार्यक्रम पनि स्थानीय स्तरमा हुने गरेका पनि छन् । तथापि यस्ता त्रासदीपूर्ण घटना हुन छाडेका छैनन् । यही समयमा गहुँ भित्र्याउने सिजन पनि पर्दछ । थ्रेसरबाट गहुँ दाउनी गर्दा होस् वा विद्युत सट भएर आगो लाग्ने घटना पनि प्रायः सुक्खा याममा नै बढी हुने गर्दछन् । जति साबधानी अपनाउँदा पनि आगलागी हुने नै गरेका कारण यसबाट हुने क्षति न्यूनीकरणकालागि तत्कालै बारुणयन्त्र उपलब्ध हुन आवश्यक छ । सप्तरीका केही स्थानीय तहले बारुणयन्त्रको व्यवस्था गरेको भए पनि धेरैमा अहिले पनि यो सुबिधा छैन । कथंकदाचित आगो लागिहाले अन्य पालिकाबाट बारुणयन्त्र झिकाएर मात्र आगो नियन्त्रणमा लिनु पर्ने बाध्यता छँदैछ । बाहिरबाट बारुणयन्त्र आउँदा समय निकै लाग्ने र ढिलाईका कारणले क्षति बढी हुने गरेको वास्तविकतालाई नकार्न सकिन्न । सबै जसो पालिकाका प्रमुख,उपप्रमुखकालागि चढ्न गाडीको व्यवस्था त गरिएको छ । तर जनताको सुरक्षाकालागि बारुणयन्त्रको व्यवस्था मिलाउनु पर्ने त्योभन्दा आवश्यक विषय हो । यस वर्ष पनि केही यता दैनिक जसो आगलागी हुन थालिसकेको छ ।
पालिकाहरुले बारुणयन्त्रको व्यवस्था तर्फ पनि ध्यान दिई जनतालाई आगलागीको त्रासदीबाट सुरक्षा प्रदान गर्नेतर्फ सोच्न आवश्यक छ ।