काठमाण्डौं उपत्यकासहित पहाडी क्षेत्रमा विहीबार मनाएपछि आज शुक्रबार तराई–मधेशमा होली पर्व मनाइँदै छ । वसन्त ऋतृ आगमनको अवसरमा आपसी मेलमलिाप र सद्भाव साटासाटको अवसरका रुपमा लिईने होलीको आफ्नै सांस्कृतिक बैशिष्ठ्य पनि छ ।
त्रेता युगमा हिरण्यकश्यपुले विष्णु भगवानका भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ बलिरहेको आगोमा पस्न लगाउँदा ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाईसकेकी होलिका आफैं जलेर भष्म बनेकी तर प्रह्लाद उक्त आगोमा पनि सुरक्षित रहेको कथा यस पर्वसित जोडिएको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुशीयाली तथा प्रतीतका रुपमा मनाईने होलीको सांस्कृतिक महत्व छ । रंग अवीरको यस पर्वलाई असत्यकी प्रतीक होलिकाको दहन तथा सत्यका प्रतीक प्रह्लादको सुरक्षासित जोडेर पनि हेरिन्छ । उक्त षड्यन्त्रका नेतृत्वकर्ता हिरण्यकश्यपुको बधसित समेत जोडिएको होलीले असत्यमाथि सत्यकै जीत हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ । वैदेशिक रोजगारी वा अन्य कारणले बाहिर रहेकाहरु समेत होली मनाउनका लागि घर फर्किने भएका कारण यो पर्व पुनर्मिलनको माध्यमका रुपमा समेत रहिआएको छ ।
सम्पूर्ण रीसराग र वैमनष्यता परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्त र साथीभाई सँग रंग अवीर दल्दै रमाइलो गर्ने परम्पराले होली साँच्चीकै आपसी एकता अनि सद्भावको पर्व मानिन्छ । होलीकै नाममा देखिने उच्द्धंखलता झै–झगडाबाट मुक्त रहँदै शान्ति र सद्भावका साथ यस पर्वको आनन्द उठाऔं । सबैमा शुभ होली !