राजविराज नगरपालिका कार्यालयदेखि करीब एक सय मिटरको दूरीमा छ गौत्तम शिशु सदन विद्यालय । उक्त विद्यालय उत्तरको गल्ली यतिबेला खुला सौच गर्नेहरुका लागि सहज स्थलका रुपमा प्रयोग गरिंदा त्यसको दुर्गन्ध विद्यालयमा फैलँदो छ ।
घोषणाका हिसाबले त राजविराज पनि समयमै खुला दिसामुक्त घोषणा भएकै हो । तर व्यवहारमा हेर्दा चाहीं नगर क्षेत्रमा खुला सौचको समस्या यथावतै छ । अन्यत्रको त के कुरा गर्नु, वरिपरि मन्दिरै मनिदर, आकर्षक भगवती पोखरी, दुई–दुई वटा विद्यालय, नगरपालिका कार्यालय र केही दुरीमा मात्र रहेको नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवन आपसपासमै यसरी खुला सौचले दुर्गन्धित वातावरण बनाईरहँदा पनि सम्बन्धित निकायले अनदेखा गरिरहेको अवस्था छ । खुला सौच रोगको कारक हुन्छ भन्ने कुरा जगजाहेर छ । स्वच्छ तथा सुन्दर नगरपालिका बनाउने राजविराज नगरपालिकाका जनप्रतिनिधिहरुको प्रतिबद्धता पनि हो । नगरपालिकाले सरसफाईका नाममा वर्षेनी ठूलो रकम लगानी गर्दै पनि आएको छ । केही वर्ष अघिसम्म नगरपालिकामा खुला सौचमाथि कडाई गर्न केही सामाजिक संस्थाका पदाधिकारी तथा सदस्य जुर्मुराएका पनि देखिन्थे । तर आजकल उनीहरुको गतिविधि पनि यस प्रति खासै भईरहेको देखिँदैन ।
धेरैको स्वास्थमाथि जोखिम बढाउने खुला सौचको समस्यालाई नियन्त्रणतर्फ ध्यान नदिने हो भने विस्तारै यो क्रम बढेर जाने र अन्ततः गम्भीर समस्या नै नबन्ला भन्न सकिन्न ।