न्यूज टुडे
राजविराज, १२ फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित इटहर्वा बजारका संरचना हटाइएको विरुद्धमा स्थानीयबासी आन्दोलित भएका छन् । प्रशासनको मिलोमतोमा बजारले ४० बर्ष अगाडिदेखि हकभोक गर्दै आएको बजारको संरचना भत्काएको स्थानीयबासीले आरोप लगाएको हो ।

भू-माफियासंगको मिलोमतोमा प्रहरीले सुरक्षा दिएर बजारको संरचना रातारात भत्काएको बजार बासीले आरोप लगाएका छन् ।
२०७२ सालमा राजविराज निवासी राजेश दासले बजारले हकभोग गरिरहेको जग्गा आफ्नो नाममा नामसारी गरेपछि उक्त जग्गा विवाद चुलिएको थियो ।
उनले विभिन्न व्यक्तिको नाममा नामसारी गर्दै हाल भक्तपुरपुरका बालगोपाल कार्कीको नाममा कायम छन् ।

उनै जग्गा धनीको इसारामा प्रहरीले सुरक्षा दिएर बजारको संरचना हटाएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले आरोप लगाए । उनले बर्षोबर्ष देखि बजारले उपभोग गर्दै आएको जग्गा कुनैपनि हालतमा नछाड्ने बताए ।
विना सूचना एक्कसी एकाविहान डोजर लगाएर घरटहरा भत्काउन थालेपछि घरभित्र रहेका सरसामान समेत निकाल्न नपाएको पीडित राम कुमार चौधरीले बताए । उनले प्रहरीको ज्याजतीले गर्दा लाखौं क्षति भएको दुखेसो पोखे ।
विहान ६ बजे सयौं प्रहरीको सुरक्षा घेराभित्र चारवटा डोजर लगाएर घरटहरा अन्धाधुन्ध आक्रमण शैलीमा हटाएका छन् ।
घरटहरा भत्काउन थालेपछि स्थानीयले विरोध गरेपछि प्रहरीसंग घम्साघम्सी भएको थियो । सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले स्थानीय योगेन्द्र प्रसाद चौधरी, प्रिन्स विक ,दिलिप चौधरी, बेचन मण्डल र राम कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएरका थिए ।
स्थानीयले व्यापक विरोध जनाएपछि उनीहरुलाई प्रहरी भेनबाट झारिएको थियो ।
हाल स्थानीयबासीद्वारा सडक अवरुद्ध गरि प्रदर्शन गरिरहेका छन् ।