आदिवासी जनजाति पत्रकारहरुका लागि मूल्यांकन सम्बन्धि राष्ट्रिय स्तरीय दुइदिने तालीम काठमाडौं शनिबारदेखि शुरु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा नेपाल मुल्यांकन समाजले तालिम आयोजना गरेको हो ।
तालीममा सहभागी फोनिजका विभिन्न तहका पदाधिकारी । फोटो : न्यूज टुडे
नेपाल मुल्यांकन समाजका अध्यक्ष डा. भूवन बहादुर बज्राचार्यको अध्यक्षतामा आयोजित तालिमको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले पानसमा बत्ती बालेर तालिम उद्घाटन गरे ।
तालीम उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यक्ष डा. अधिकारीले पत्रकारहरुसंग अनुभव बाँड्न पाउँदा खुशी लागेको बताए । उनले ठिक काम गरौ र ठिक तरिकाले काम गर्नुपर्छ भन्ने मान्यता राखी तालीम संचालन गरिएको बताउँदै सहि सूचना जनतामाझ पुर्याउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार मात्र विकास होइन भन्दै उनले मानवीय विकास तथा सामाजिक विकासलाई पनि विकासको मुल आधार मानेर योजना बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राईले तालीमले व्यवसायीक पत्रकारितामा थप निखारता ल्याउने विश्वास व्यक्त गरे । उनले यस्ता महत्त्वपूर्ण कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिन सहकार्यका लागि आग्रह गरे ।
देशभरीका आदिवासी जनजाति पत्रकारहरुको सहभागीता रहेको तालीममा डा. उपाध्यक्ष अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा. गंगा दत्त अवस्थी,फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राई, मुल्यांकन समाजका उपाध्यक्ष डा. बज्राचार्य, उपाध्यक्ष विजय कुमार सिंहले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रम संचालन नेपाल मुल्यांकन समाजका सदस्य भवानी दाहालले गरेका थिए ।