• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सरकारले आफ्नो कोषबाट रकम खर्चेर विकास निर्माणका योजनालाई अघि सार्दछ ।
यिनै योजनाका तहत विभिन्न निर्माण कार्यहरु गरिन्छन् जसबाट जनताले लामो समयदेखि भोग्दै आएको कष्ट र समस्याको समाधान हुन्छ । अर्थात जनताका समस्यालाई प्राथमिकीकरण गरेर विकासीय योजनालाई अघि बढाईन्छ, जसबाट बहुसंख्यक जनता लाभान्वित हुने गर्दछन् । तराई मधेशका लागि वरदान सरह मानिएको हुलाकी सडक स्तरोन्नतिको कार्य यिनै मध्येको एक महत्वपूर्ण योजना हो, जसको अहिले काम चलिरहेको छ । सप्तरीमा पनि हुलाकी सडक खण्डको धेरै जसो काम सम्पन्न भएपनि जिल्लाकै सदरमुकाम राजविराजमा चाहीँ केही भागमा अहिले पनि काम पूरा हुन सकिरहेको छैन । यसले गर्दा यहाँका वासिन्दाहरु प्रदूषणको मार खेप्न बाध्य छन् भने आवागमनमा पनि सकस छ । वडा नं. ३ र ८ का बीचमा पर्ने कञ्चनपुर सडकका नामले चिनिएको हुलाकी सडक खण्डको हनुमान मन्दिरदेखि पडरियासम्मको काम बाँकी रहेका कारण त्यस क्षेत्रमा हिउँदमा धूलो र वर्षामा हिलोको समस्या रहँदै आएको छ । दक्षिणतर्फ वडा नं. ३ अन्तर्गतको सडक आसपासका संरचना भत्काईएको भए पनि वडा न ं. ८ उत्तरतर्फ चाहीँ यथावत राखिएका कारणले काम चल्न सकिरहेको छैन । दुवै तर्फ समान रुपमा सडक चौडा पारेर पिच गर्नु पर्नेमा भोटको राजनीतिकबाट अभिप्रेरित भई एकातर्फ संरचना भत्काउने र अर्कोतर्फ चाहीँ त्यत्तिकै छाडेको भनी अहिले जनस्तरबाट नै गुनासो उठ्न थालेको छ । जसको संरचना भत्काइएको छ । उनीहरुले यसलाई काखापाखा गरेको भनी बताउन थालेका छन् । त्यतिबेला संरचना तोडफोड गर्दा राजविराज नगरपालिकाका केही जनप्रतिनिधिहरुको विशेष सक्रियता रहने गरेकोमा अहिले कुनै सक्रियता नरहेको अवस्था छ ।
अतः अवरुद्ध भएको काम पुनः सञ्चालनका लागि पनि त्यतिकै सक्रियताको आवश्यकता छ ।