• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सुक्खायाम सुरु भए लगत्तै वनमा डढेलो लाग्न सुरु भईसकेको छ । डढेलोले वन सखाप पार्ने, वन्यजन्तुमा संकट आउने, मानव बस्तीमा समेत आगो फैलन सक्ने तथा वातावरण प्रदूषित हुने भएकोले यसबाट सुरक्षाको आवश्यकता रहनु स्वाभाविकै हो ।
पतझड तथा सुक्खा याम भएका कारण वनमा डढेलो फैलन नपाओस् भन्नका लागि सुरक्षाका उपाय पहिले देखि नै अपनाउन आवश्यक रहन्छ । सुकेका पत्कर डढेपछि नयाँ घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने गिरोहको चलखेल पनि यस्तै समयमा हुने गर्दछ । वनमा गाईवस्तु चराउन जाने गोठालाहरुले चुरोट बिडीको ठुटोलाई आगो ननिभाईकन फाल्ने गरेका कारणले पनि जङ्गलभरी आगो फैलने गरेको छ । तसर्थ कथनकदाचित आगो लागिहाले पनि वनभरि फौलिन नपाओस् भन्नका लागि बीच–बीचमा फायरलाईन बनाएर भएपनि सुरक्षाको तयारी गरिनु सान्दर्भिक हुनेछ । वन जोगाउनमा समूदायका वासिन्दाहरुको भूमिका सबै भन्दा बढी प्रभावकारी रहनेमा दुई मत ननोला । वन सुरक्षाको आवश्यकता, यसबाट हुने प्रत्यक्ष परोक्ष फाइदा र वन विनाश कारण उत्पन्न हुने संकटका बारेमा जनतालाई जानकारी दिएर सुरक्षामा सहयोगका लागि उत्प्रेरित गर्न सकियो भने यसले वन जोगाउन धेरै हदसम्म सफलता मिल्दछ । वनलाई जोगाउन सक्दा पानीका स्रोतको संरक्षण, प्रदूषण नियन्त्रण, दाउरा घाँसको सुविधा मिल्ने भएका कारण यसको महत्वलाई मनन गर्न सक्नुपर्ने आवश्यकता छ । सरकारले आफ्नो स्तरबाट गरेको प्रयासलाई अझै प्रभावकरी तुल्याउनु पर्ने आवश्यकतालाई नकार्न सकिन्न । वर्षेनी जसो भईरहने डढेलो नियन्त्रणमा सयममै तयारी गरेर बस्न सकियो भने यसबाट क्षति न्यूनीकरणमा सफलता मिल्ने हुन्छ ।
सरकारको एकल प्रयास मात्रले वनको संरक्षणमा सफलता हासिल नहुने अवस्था रहेमा जनस्तरबाट पनि सहयोग लिने वातावरण मिलाएर काम गर्नु श्रेयष्कर हुनेछ ।