एक महिना अघि सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित न्यू महालक्ष्मी ज्वेलर्समा चोरी भयो । पसलबाट ११ लाख मुल्य बराबरका गरगहना चोरले लिएर गएको पसल धनीको भनाई छ ।
उनले सिसिटिभी फुटेजमा चोरहरु स्पष्ट देखिएको भएपनि प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न नसकेको आरोप लगाएका छन् । प्रहरीले भने फुटेजमा देखिएका व्यक्तिहरुको पहिचान कठिन भएको भएपनि सुक्ष्म तवरले घटनाको अनुसन्धान भईरहेको बताएको छ । प्रहरीको प्रमुख जिम्मेवारी अपराध नियन्त्रण तथा शान्ति सुरक्षासित नै जोडिएको हुन्छ । अपराध नियन्त्रणमा सफलताका लागि अपराधी पत्ता लगाएर कारवाही चलाउन पनि उत्तिकै आवश्यक रहन्छ । सप्तरीमा कञ्चनरुपको न्यू महालक्ष्मी ज्वेलर्समा मात्र नभई अन्यत्र पनि चोरीका घटना भएका छन् । तर त्यसमा संलग्न सबै पक्राउ पर्न सकिरहेका छैनन । अपराध गरेर अपराधी उम्किन सफल हुँदा उसले थप अर्को अपराध गर्न सक्दछ भन्ने कुरालाई विर्सन मिल्दैन । चोरी गरेर चोर पनि उम्कियो भने भविष्यमा उसले अर्को चोरी गर्न सक्दछ ।
तसर्थ चोर पत्ता नलाग्नुलाई पनि शान्ति सुरक्षा बहाली र अपराध नियन्त्रणको प्रहरीको लक्षमाथिको एक प्रकारको चुनौतिकै रुपमा स्वीकार गर्नुपर्ने हुन्छ । अपराधमा संलग्न व्यक्तिलाई पक्रेर कानूनी दायरामा ल्याउनुलाई पनि प्रहरीको सफलताकै रुपमा गणना हुने भएकाले जनतालाई सुरक्षाप्रति आश्वस्त तुल्याउनका लागि पनि अपराधी पत्ता लगाउन आवश्यक छ ।