उत्तम आचार्य
कञ्चनरूप, १० माघ ।
चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा थप पाँच दिनका लागि जाडो बिदा दिएको छ । शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालयहरूमा शुक्रबारदेखि पाँच दिनका लागि थप जाडो बिदा दिएको हो ।
नगरपालिकाले वर्षे बिदामा कट्टा हुने गरी माघ ११ गते शुक्रबार देखि माघ १५ गते मंगलबार सम्म ५ दिन बिदा थप गरिएको कञ्चनरूप नगरपालिकाले जनाएको छ ।
नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा थप गरिएको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।
अब नगरका विद्यालयहरू माघ १८ गते शुक्रबारदेखि नियमित सञ्चालनमा आउने नगरपालिकाका शिक्षा समितिका संयोजक प्रमोद कटुवाले जानकारी दिए ।
सप्तरी सहित तराई–मधेसमा माघ ३ गते देखि फेरी चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ ।
इहुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।
यस अघि नगरपालिकाले माघ ४ गते शुक्रबार देखि माघ ९ गते बुधबार सम्म जाडो बिदा दिएको थियो ।