तराई मधेशमा यति बेला ठण्डी बढ्न थालेको छ । पुसमा सामान्य रहेको ठण्डी माघ लागेपछि तरुण रुप धारण गर्दै अघि बढेको हो ।
ठण्डीका कारण विपन्न समूदाय बढी पीडामा छन् । ती मध्येका कसैकसैलाई विभिन्न निकायले कम्बल बितरण बितरण गरेतापनि अधिकांशले त्यसको पत्तो पनि पाउँदैनन् । जसले पाए, तिनलाई ठण्डी कटाउन केही सहज भए पनि नपाएका अधिकांशको अवस्था उस्तै पीडादायक रहनेमा शंका मान्नु नपर्ला । जाडो हरेक वर्ष यसरी नै आउँछ अनि पीडितलाई कतै कतै यसैगरी कम्बल बितरण पनि गरिएला । तर यसलाई समस्याको समाधान मान्न सकिन्न । जाडो छल्न नसक्ने व्यक्ति यस्तो अवस्थामा कसरी पुगे ? यस प्रश्नको जवाफ खोज्ने हो भने यसको प्रमुख कारण भनेको उनीहरुको आयस्तर कम रहनु नै हो । आयस्तर उकास्नकालागि कि त रोजगारी चाहिन्छ कि सरकारले बेरोजगारकालागि विशेष व्यवस्था मिलाउनु पर्ने हुन्छ । व्यवस्था परिवर्तन भएसंगै तल पारिएकाहरुको अवस्थामा सुधार आउनु पर्छ भनि कुराको उठान त निकै गरिन्छ । तर त्यस्ता भूइँ मान्छेको अवस्थामा सुधार ल्याउने भन्दा पनि मौका पाएका बखत आफ्नो र आफन्तको अवस्था सुधार्नेतिर बढी ध्यान लिईएका कारण तल पारिएकाहरुको अवस्था अहिले पनि गरिबीको दुष्चक्रमा नै रुमल्लिईरहेको छ ।
त्यस्ता विपन्न जनताको स्थिति उकास्नकालागि सरकारले नै ध्यान दिनु पर्नेमा दुई मत नहोला । तर पनि विपन्नको अवस्था उकास्ने तर्फ भन्दा प्रकोपका समयमा केही राहत बाँडेरै दायित्व पूरा भएको मान्ने प्रचलन अद्याबधि रहेको कारणले ठण्डीको पीडाले पनि सालसालै पछ्याएको मान्दा अन्यथा नहोला ।