सप्तरीमा पत्रिकाको संख्या त बढी छ । यहाँबाट प्रकाशन गरिने साप्ताहिक, दैनिक, पाक्षिक पत्रिकाहरुको समग्रमा बढी संख्या देखिने गरे पनि तिनीहरु अहिले अनेक प्रकारका समस्याबाट जेलिँदै गएका छन् ।
लोकतन्त्रमा पत्रिका बढी संख्यामा रहनु सकारात्मक नै हो । तर तिनको संख्या भन्दा पनि गुणस्तरियता, नियमितता जस्ता कुरालाई पनि हेरिनु पर्ने हुन्छ । नियमितता तथा गुणस्तरियताकालागि पत्रकारहरुले भोग्ने गरेका समस्याहरु समाधान गर्नेतर्फ पनि ध्यान पुर्याउन आवश्यक हुन्छ । स्थानीय तहहरुमा बढेको जिम्मेवारी तथा स्थानीय स्तरको विकासमा पत्रकारिता क्षेत्रको पनि सहयोग रहने कुरा निर्विवाद छ । पत्रकारितालाई पनि साथै लिएर हिँड्न सकेमा स्थानीय स्तरका समस्या बढी उजागर हुने र यसबाट त्यहाँका समस्याको समाधानमा स्थानीय सरकारकै भूमिकामा रहेका स्थानीय तहहरुको पनि ध्यानाकर्षण हुने भएका कारण यसमा स्थानीय सरकारले पनि चासो लिनु पर्ने हो । समस्याबाट ग्रस्त बनेका स्थानीय पत्रिकाहरुकालागि समानुपातिक विज्ञापन उपलब्ध गराउने,स्थानीय अखबारले पाउने विज्ञापनलाई केन्द्रका ब्रोडसिट अखबारमा छाप्ने परिपाटीमा सुधार ल्याउने जस्ता कार्यबाट यहाँका पत्रिकालाई प्रोत्साहन मिल्नेमा आशंका रहन्न । तसर्थ यस्ता विषयमा स्थानीय तहहरुले ध्यान दिन सके भने यसबाट यहाँका पत्रिकाहरुमाथिको आर्थिक संकट कम गर्नमा केही न केही मद्दत अवश्य मिल्नेछ । पत्रकारितालाई विरोधी नजरले मात्र हेर्ने तथा उपेक्षाभाव राख्ने हो भने यसबाट परोक्ष रुपमा स्थानीय तहहरुलाई पनि नोक्सानी नहोला भन्न सकिन्न ।
लोकतन्त्रकालागि समेत अग्रपंक्तिमा रहेर आनदेलनमा उत्रेको पत्रकारिताप्रति आफ्नो पनि दायित्व रहन्छ भन्नेमा स्थानीय तहले मनन गर्न आवश्यक छ ।