सप्तरीको सुरुङ्गा नगरपालिका ६ महुलियामा संचालित प्रथम नागरिक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक महुलिया फुटबल टिम महुलियाले हात पारेको छ । महुलिया खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा श्रीपुर एफसी श्रीपुरलाई ० -२ गोलले पराजित गर्दै महुलीयाले उपाधिमाथि कब्जा जमाएको हो ।
विजेता टिमलाई पुरस्कार वितरण गर्दै राज्यमन्त्री चौधरी । फोटो : न्यूज टुडे
निर्धारित ६० मिनेटको खेलमा आयोजक महुलियाले खेलको पहिलो हाफमा २ गोल गरि टिमलाई अगाडि बढाएका थिए । दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको खेलमा उपविजेता टिमको तर्फबाट गोल फर्काउन नसकेपछी महुलिया २ गोलले विजयी भएको आयोजकले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष रामनिवास चौधरीको अध्यक्षता तथा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री अरुण कुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कार वितरणमा सहभागी मन्त्री चौधरी तथा सुरुङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरीसहित अतिथिगण । फोटो : न्यूज टुडे
समापन समारोहमा प्रमुख अतिथि राज्यमन्त्री चौधरीले विजेता टिम महुलियाका खेलाडीहरुलाई रु ४० हजार ५ सय ५५ नगद राशीको पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्रद्वारा सम्मान गरे । यसैगरी सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले उपविजेता टिमका खेलाडीहरुलाई रु २५ हजार ५ सय ५५ नगद राशीको पुरस्कार सहित कप, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिन ।
पुरस्कार ग्रहण गर्दै उपविजेता टिमका क्याप्टेन । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री अरुण कुमार चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरी, सुरुङ्गा नगरपालिका ६ का वडा अध्यक्ष दिनेश रामलगायतकाले शुभकामना व्यक्त गर्दै खेल क्षेत्रको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चर्चित कार्यक्रम प्रस्तोता प्रवीण कुमार चौधरी र प्रमोद थारुद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत शिक्षक शुभ नारायण चौधरीले गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीको आर्थिक सहयोगमा संचालित फुटबल प्रतियोगिता समापन समारोहमा पार्टीका केन्द्रीय सचिब तुलसी थारु, कोषाध्यक्ष टीकालक्ष्मी चौधरी, केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरी, महावीर प्रसाद चौधरी, महेश प्रसाद चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङलगायतका केन्द्रीय जिल्ला तथा विभिन्न स्थानीयतहका नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनप्रतिनिधि, सुरक्षाककर्मीहरुको उपस्थित रहेको थियो ।