• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेशमा शनिबार ‘बलिदानी दिवस’ मनाईयो । अब माघ १६ गते सहिद दिवस मनाईने छ । शहिद दिवस त साताव्यापी कार्यक्रम साथ मनाउँदा माघ १० देखि नै सहिद सप्ताह सुरु हुनेछ ।
मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको सहादतपछि माघ ५ लाई ‘बलिदानी दिवस’ का रुपमा मनाउन सुरु गरिएको हो । महतो पछि मधेश आन्दोलनका विभिन्न चरणमा अन्य धेरैले सहादत प्राप्त गरिसकेका छन् । मुलुकमा अधिकारप्राप्ती तथा निरंकुशता विरुद्धका आन्दोलनहरुमा धेरैले सहादत प्राप्त गरेका कारण सहिदहरुको सूची लामो बनेको छ । देश र जनताका लागि जीवन नै बलिदानीमा होमेका ती सबै सहित पूजनीय छन्, ती सबैको सम्मान हुनैपर्दछ । सहिदले दिएको सहादतबाटै मुलुकमा ऐतिहासिक परिवर्तन हासिल भएको हो । यही परिवर्तनले हिजोका आन्दोलनमा सक्रियता जनाएका नेतृत्व दिएका राजनीतिक दलका नेताहरु नै आज सत्ताको नेतृत्वमा छन् । यस क्रममा सहिदका अधुरा सपनालाई पूरा गर्ने दायित्व अब उनीहरुकै काँधमा आएको छ । सहिदहरुले त जीवन नै उत्सर्ग गरेका कारण अब उनीहरु भौतिक रुपले हामी बीच छैनन्, तर उनीहरुले अंगालेको विचार र लिएको बाटो सदा अमर नै रहनेमा चाहीँ आशंका छैन । त्यही विचार र सपनाको अनुशहरण गर्दै मुलुक बनाउने जिम्मेवारी अब तिनका अनुयायीमाथि छ । राजनीतिक रुपमा परिवर्तन आएको छ । गणतान्त्रिक संविधानमा संघीयता, समानुपातिक र समावेशिताको ग्यारेण्टीका साथसाथै सबै खाले विभेदको अन्त्य गरिने समेत उल्लेख छ । अब व्यवहारिक रुपमा जनतालाई त्यसको प्रत्याभूति दिलाउन आवश्यक रहेता पनि यो काम अझै पनि अधुरै छ । सबैको सहभागितामा मुलुक सञ्चालनले राष्ट्रिय एकतामा बल पुग्दाका साथै विकास समृद्धिको दुष्चक्रमा परेका, भोक र रोगले गाँजिएकाहरुको उत्थान हुनु पर्ने पहिलो आवश्यकता हो । मुलुकलाई समृद्घिको मार्गमा अघि बढाईने भनी अठोतका साथ सत्तामा पुगेका राजनीतिक दलहरुले कुरा समृद्धिको गरेता पनि भ्रष्टाचार अनियमितता, ढिलासुस्ती जस्ता विकृति बढ्दै गएको अवस्था छ ।
बढ्दो बेरोजगारी र शैक्षिक क्षेत्रमा ब्याप्त समस्याका कारण युवा विदेशिने क्रम ह्वात्तै बढेको छ । यस्तो विषम परिस्थितिमा सत्तामा गरेको प्रतिबद्धतालाई समेत समेट्दै मुलुक निर्माणमा अग्रसर हुनुपर्ने आजको प्रमुख आवश्यकता हो । सहिदहरु प्रतिको सम्मान पनि यसै भित्र निहित रहेको छ ।